दिपू वर्णवाल
जेठ ८, वीरगञ्ज । वीरगञ्जमा साताव्यापी रुपमा आयोजित सडक सुरक्षा सप्ताहको अन्तिम दिन आईतवार सडक दुर्घटनामा परेर ज्यान गुमाएका सम्पुर्ण मृतकहरुको आत्माको चीरशान्तिको लागि मैनबत्ती बालेर मौनधारण गरिएको छ ।
आईतवार साँझ वीरगञ्जको घण्टाघर चोकमा मैनबत्ती बाली एक मिनट मौन धारण गरि सडक सुरक्षा सप्ताह कार्यक्रमको समापन पनि गरिएको छ ।
समापन कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले सडक सुरक्षा सप्ताह जस्ता कार्यक्रम वर्षमा एक पटक मात्र नभई निरन्तर हुनुपर्नेमा जोड दिए । उनले स्थानीय युवा अभियन्ता ,समाजिक क्लब र संघ संस्थाहरुसंग हातोमालो गरि शहरको ट्राफिक व्यवस्थापन गर्न सफल हुने पनि बताए ।
युवा अभियन्ता दिलिपराज कार्कीले अन्य कारणले ज्यान गुमाउनु भन्दा ट्राफिक नियम नमानेर लापरवाही गरेर ज्यान गुमाउन परेका घटना बढी भइरहेकाले विशेषगरि युवाहरुले ट्राफिक नियमलाई अत्मसाथ गरे मात्र सडक दुर्घटनामा कमि आउन सक्ने बताए । कार्यक्रममा परिवर्तन नेपाल,पहल संस्था,भोलेन्टीयर समूह,रोटरी क्लब वीरगञ्ज, नेपाल रेडक्रस सोसाइटी लगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।