भाद्र २१,काठमाडौँ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । आयोगको उपाध्यक्षका लागि सिफारिस समितिले झासहित, डा। प्रविण मिश्र र डा। श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो । त्यसैमध्येबाट आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले झालाई उपाध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि पहिलो नम्बरमा डा। झाकै नाम सिफारिस गरेको थियो । नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका डा. झा नेपाली कांग्रेस निकटका चिकित्सक हुन् ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा–२२ मा आयोगको उपाध्यक्ष नियुक्ति सम्बन्धी व्यवस्था छ । ऐनको दफा २२ को उपदफा ‘१’ मा सरकारले दफा–२३ बमोजिमको समितिले सिफारिस गरेका व्यक्तिहरू मध्येबाट एक जनालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ । ऐनमा उपाध्यक्षको पदावधि बढीमा चार वर्षको हुने प्रावधान छ ।