कात्तिक २५, काठमाण्डौँ । तिहार शुरु भएसँगै घर, भवन तथा चोकहरुमा रङ्गीचङ्गी बत्ती राख्न थालिएको छ ।
तिहारलाई उज्यालोको पर्वको रुपमा लिइने भएकाले एक हप्ता अघिदेखि नै काठमाण्डौ लगायत मुख्य सहरमा थरीथरीका बत्ती बाल्न शुरु भइसकेको छ ।
सहर बजारका ठूला भवनदेखि गाउँका साधारण घरमासम्म तिहारमा झिलिमिली बत्ती बाल्ने चलन छ । देश लोडसेडिङमुक्त भएपछि घर, कार्यालय, पसल सबैतिर विद्युतीय झलिमिलि बत्ती बाल्ने चलन बढेको हो ।
व्यवसायीहरुका अनुसार वर्षभरी हुने झिलिमिली बत्तीको कारोबारमध्ये ८० देखि ८५ प्रतिशत कारोबार तिहारका बेला मात्रै हुने गर्छ । यस वर्षको तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासङ्घले जनाएको छ ।