मंसिर २८, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड युटिएल सहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ ।
प्राधिकरणले पुतलीसडक काठमाडौं ठेगाना भएको युटिएल, कोटेश्वर काठमाडौंको म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाका अनुसार ती तीनवटै सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरण गरेका थिएनन् ।
तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।