फागुन १८,काठमाडौँ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । लामो समयदेखि बिरामी कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो । अस्वस्थ भएपछि गत पुस २३ गते उनलाइ सुरूमा ललितपुरको मेडिसिटी र त्यसपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
नेता अधिकारीलाई हेर्न पुगेका मोरङ समाज काठमाडौँका अध्यक्ष कृष्णमुरारी कोइरालाका अनुसार भेन्टिलेटरमा नेता अधिकारीको श्वास प्रश्वास कम हुँदै गएको थियो । त्यसपछि अधिकारीको निधन भएको जानकारी चिकित्सकहरुले आफन्तलाई दिएका हुन् । अधिकारीको निधन भएको खबर पाएसँगै अस्पताल परिसरमा आफन्त र शुभेच्छुकको रुवाबासी भएको छ ।
फोक्सो र मुटुमा समस्या हुँदा तीन हप्तादेखि ह्याम्स अस्पतालमा उपचाररत अधिकारीलाई बचाउन नसकिएको ह्याम्स अस्पताल प्रशासनले दिएको छ । शनिबार दिउँसो मात्रै डा.हेमराज पनेरु र अस्पतालका मेडिकल डिरेक्टर डा. भास्करराज पन्तले विज्ञप्ति सार्वजनिक गर्दै बचाउन सक्ने सम्भावना न्यून रहेको बताएका थिए ।
विदेशमा रहेकी छोरी आइनपुग्दासम्म अस्पतालमा अधिकारीलाई कृत्रिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको थियो । अधिकारीे वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुवा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका थिए । उनका श्रीमती ओमकुमारी र तीन छोरी छन्।
कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गरेका थिए । महोत्तरीमा जन्मिएर विराटनगरलाई कार्यक्षेत्र बनाएका अधिकारी पछिल्लो समय राजधानीमा बस्दै आएका थिए ।
पटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरिसक्नुभएका नेता अधिकारीलाई आम मानिसले ‘बुढाबुढीलाई भत्ता दिने’ र ‘आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ नेताका रुपमा सम्मान गर्दछन् ।