जेठ २, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ ।
उक्त प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा गएराति र बिहान वर्षा भएको छ । कोशी प्रदेशमा अहिले पनि पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा थोरै स्थानमा र बाँकी भू–भागमा एक–दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार तराईका केही ठाउँमा तापक्रम बढ्ने छ । आज तराईका केही ठाउँको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।