कोराला नाकामा पूर्वाधार न व्यापार, भन्सार सेवा ठप्प

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २, शुक्रबार (१ महिना अघि)
  • ६२ पटक पढिएको
कोराला नाकामा पूर्वाधार न व्यापार, भन्सार सेवा ठप्प

जेठ २, मुस्ताङ । कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएपनि हाल आर्थिक गतिविधि ठप्प भएको छ । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले नाकामा अध्यागमन कार्यालय उद्घाटन गरेको केही दिनमै बन्द भएको सेवा जेठ लाग्दा पनि शुरू हुननसक्दा स्थानीय व्यापारी मारमा परेका छन् ।

नेपालतर्फ ताला झुण्डिएको अध्यागमन कार्यालय कहिलेदेखि सञ्चालनमा आउँने टुंगो छैन । नाका सञ्चालन हुनका लागि भन्सारका साथै आवश्यक पशु तथा खाद्य क्वारेन्टाइन स्थापना भएको छैन । भन्सार कार्यालय सञ्चालनमा आउन क्वारेन्टाइन सञ्चालन आवश्यक छ । स्थानीयहरू सरकारले कोरला नाका सञ्चालनका लागि सक्रियता नदेखाउँदा समस्या भइरहेको गुनासो गर्छन् ।

अध्यागमन कार्यालय उद्घाटन भएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिए पनि त्यसो हुन नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्यहर्वु गुरूङको बुझाइ छ । उनका अनुसार नाकामा सुरक्षा व्यवस्था पनि राम्रो छैन । नाका नजिकै दक्षिणतर्फ नेपालले टिनले छाएको चारकोठे भवनबाहेकका पूर्वाधार नहुँदा मानिस त्यहाँ रोकिने अवस्था छैन । यतिसम्मकि पानी पर्दा ओत लाग्ने ठाउँ पनि छैन ।

‘लोमान्थाङबाट नाका २१ किलोमिटरको दूरीमा पर्छ, नाका पुग्न १३ किलोमिटर अगाडि रहेको न्हेछुङमा प्रहरी पोष्ट (यो क्षेत्रमा अन्तिम पोष्ट) भए पनि नाकामा प्रहरीको उपस्थिति कमजोर छ”, उनले भने । नाकामा पूर्वाधार नभएका र तीव्रगतिमा चिसो हावा चल्ने भएकाले लामो समय टिकिराख्न गाह्रो हुने गरेको छ । त्यसैले प्रहरीहरू न्हेछुङबाट बिहान नाकातर्फ जाने र साँझ फर्कने गर्दै आएका छन् । कोरला नाकामा चीनतर्फ भने सुविधासम्पन्न अध्यागमन कार्यालय, भन्सार र सुरक्षाकर्मी बस्ने व्यवस्था छ ।

उनका अनुसार सुरक्षाकर्मीका लागि बस्ने भवनसमेत नभएको कोरालामा विद्युत्को पोल मात्रै पुगेको छ । नाकामा खानेपानी तथा पर्यटकलाई शौचालय र ल्याण्डलाइन फोनको पनि सुविधा उपलब्ध नहँदा समस्या रहेको छ । पूर्वाधार निर्माण गरी नाकाको प्रभावकारी सञ्चालन हुनसके मुस्ताङका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकावासीले लाभान्वित हनुका साथै चिनियाँ पर्यटकको नेपाल आगमन पनि सहज हुनेछ ।

चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य वस्तु, मदिरा, फर्निचर र कपडा किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका स्थानीयलाई प्रवेशपास दिने भएकाले उनीहरू सहजै चीन जान पाउँछन् भने अन्यलाई विशेष पासको व्यवस्था गरिएको छ ।

कोरला नाकामा एकीकृत भन्सार कार्यालय खोल्नका लागि सरकारले एक हजार ३४४ रोपनी जग्गा भन्सार कार्यालयको नाममा ल्याउने प्रक्रिया चार वर्षयता सुरू गरे पनि अहिलेसम्म आवश्यक संरचना निर्माण सुरू भएको छैन । यद्यपि यसका लागि सीमाङ्कन गरी सिफारिस भने भइसकेको छ ।

कोरला नाकाबाट ल्याएको सामान जाँच गर्नका लागि १३ किलोमिटरको दूरीमा न्हेछुङ पुग्नुपर्ने बाध्यता छ । चीनले सीमा नजिकै जाँचपासको व्यवस्था गर्दा पनि नेपालले पूर्वाधार निर्माण गर्न नसकेको स्थानीय गुनासो गर्छन् ।

यसअघि गत कात्तिक दोस्रो सातामा गण्डकी प्रदेशसभाअन्तर्गतको अर्थ तथा विकास समितिको टोलीले कोरला नाकाको निरीक्षण गरी कोरलामा तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे सरकारलाई सुझाव दिएको थियो । जसमध्ये खानेपानी र शौचालय तथा फोहर व्यवस्थापनको काम तत्कालै गर्नुपर्ने सुझाव दिइएको थियो ।

यो नाका कोरोना महामारीको समयमा २०७६ सालमा पूर्ण रूपमा बन्द भएको थियो । त्यसको चार वर्षपछि २०८० साल कात्तिक २७ गते सञ्चालनमा आएको थियो । त्यसअघिका वर्षमा नाकामा वर्षमा दुईपटक वैशाख–जेठ र दशैँका समयमा अन्तरदेशीय व्यापार मेला हुँदै आएको थियो । तर कोरोना महामारीपछि व्यापार मेला हुनसकेको छैन ।

नाका सञ्चालनको व्यावसायिक योजना बनाउन र भौतिक संरचनाको आवश्यकता भएको तत्कालीन समयमा समितिले सुझाव दिएको थियो । नाकाको प्रभावकारी सञ्चालनका विषयमा दुवै देशका अधिकारीहरूबीच पटकपटक छलफल पनि भइसकेको छ । तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणका क्रममा पनि कोरला नाका सञ्चालनका विषयमा चासोपूवर्क छलफल भएको थियो ।

जोमसोमदेखि कोरला नाकासम्म एक सय १० किलोमिटर दुई लेनको कच्ची सडकको पहुँच विस्तार भएको छ । गण्डकी प्रदेश सरकारले चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई प्रदेशको भाग्यरेखाका रूपमा प्राथमिकता दिएर स्तरोन्नति अगाडि बढाएको छ । यो सडक निर्माणपछि आर्थिक र पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस