फागुन २२, काठमाडौँ । भौतिक पूर्वाधार निर्माणमा लगानी गरी देशको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले पूर्वाधार लगानी बैंक स्थापना भएको छ ।
चालीस अर्ब अधिकृत पूँजी र रु २० अर्ब जारी पूँजीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक आजदेखि सञ्चालन भएको हो । सर्वसाधारणको ४०, व्यक्तिगत ४.९९, सरकारको १०, ‘क’ वर्गका बैंकबाट २०.८९, बीमा कम्पनीको १८.९७ लगानीमा स्थापना भएको उक्त बैंकको अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार यहाँ आयोजित कार्यक्रममा उद्घाटन गरे।
त्यस अवसरमा उनले वर्तमान वित्तीय प्रणालीमा बैंकले परिपूरकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले देश विकासका निम्ति अपरिहार्य दीर्घकालीन पूर्वाधार परियोजनामा पूँजी परिचालन गर्न सुझाउँदै नवीकरणीय ऊर्जा, जलविद्युत्, पर्यटन र शहरी पूर्वाधारमा लगानी गर्न आग्रह गरे । एक दशकअघि रु दुई अर्ब पूँजी भएका बैंकको कोषमा रु सात अर्ब पुगेको तुलनात्मक विवरण प्रस्तुत गर्दै अर्थमन्त्रीेले निक्षेप सङ्लनमा नयाँ बैंकले प्रतिस्पर्धा नगरोस् भन्ने आफ्नो चाहना भएको बताए।
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पारदर्शी ढङ्गले काम गर्न निर्देशन दिँदै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने राज्यका लक्ष्य प्राप्तिमा सक्रिय रहन आग्रह गरे। बैंकका अध्यक्ष अनुज अग्रवालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणालाई साकार पार्न दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।