साउन ३०, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्बाट पारित हुन लागेका टिआरसी विधेयकलाई पीडितसहित अन्य सबै सरोकारवालाले पनि स्वागत गर्ने विश्वास व्यक्त गरेका छन् । संसद्मा धारणा राख्दै उनले यस्तो बताएका हुन् । ‘नेपालको शान्ति प्रक्रियाको कामलाई अन्ताराष्ट्रिय समुदायले पनि नजिकबाट नियालिरहेका छन् । सबैलाई ध्यानमा राख्दै यसलाई अन्तिम निष्कर्षमा पुर्याउँदैछौं’, उनले भने‚ ‘यसलाई पीडित र अन्य सरोकारवाला पक्षले स्वागत गर्छन् भन्ने विश्वास छ। ’
एउटा महत्वपूर्ण कामका लागि फेरि सबै दलहरू एक ठाउँ आएको सभापति देउवाले बताए । अब उनले सक्षम आयोगहरू गठन आवश्यक भएको उनले बताए । ‘बाँकी काम पूरा गर्न सक्षम आयोगहरू गठन गर्न आवश्यक छ’, उनले भने, ‘मुलुकलाई अप्ठ्यारो पर्दा दलहरू एक ठाउँमा आउने गरेका छौं । आज शान्ति प्रक्रियालाई पूरा गर्न पनि सबै एक ठाउँमा छौं ।’
२०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको सबैलाई अवगत रहेको उनले चर्चा गरे । ‘बृहत शान्ति सम्झौता अनुसार द्वन्द्व पीडितहरूलाई न्याय दिलाउने, परिपूरणको व्यवस्था गर्ने एवं सम्मानित अदालतको आदेश समेतलाई मध्यनजर राखी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आवश्यक थियो’, उनले भने ।
संसदमा प्रस्तुत विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको उनले बताए । सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको पनि उनले चर्चा गरे । यो विधेयक संक्रमणकालीन न्यायको मान्यतामा आधारित हाम्रो प्रचलित कानुन, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल रहेको उनको भनाइ छ ।