भारतद्वारा पाकिस्तानसँगको कुटनीतिक सम्बन्ध स्थगित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८२ बैशाख ११, बिहिबार (२ हप्ता अघि)
  • ५२ पटक पढिएको
भारतद्वारा पाकिस्तानसँगको कुटनीतिक सम्बन्ध स्थगित

काठमाडौं । जम्मू–कश्मीरको पहलगाममा आतंकवादी समूहबाट भएको पर्यटक लक्षित आक्रमणपछि भारतले पाकिस्तानसँगका सबैजसो कुटनीतिक सम्बन्ध स्थगित गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिला क्याबिनेट समिति सीसीएसको बैठकले पाकिस्तानसँगको कुटनीतिक सम्बन्ध स्थगित गर्ने निर्णय गरेको हो । जसमध्ये सिन्धु जल सम्झौता निलम्बन, अटारी बोर्डर बन्द, कुटनीतिक अधिकारीको फिर्तीलगायत छन् ।

पाकिस्तानले सीमा क्षेत्रमा आतंकवादलाई समर्थन गरेको भन्दै भारतले सन् १९६० को सिन्धु जल सम्झौता निलम्बन गरेको हो । यस्तै अटारी सीमा क्षेत्र आगामी मे १ सम्मका लागि बन्द गरिएको छ । यो सीमा भारत र पाकिस्तानबीचको सम्बन्ध जोगाइराख्ने एउटा कडीका रुपमा रहेको थियो ।

सार्क भिजा छुट योजना एसभीईएसका आधारमा जारी भिषामा पाकिस्तानी नागरिकले भारत यात्रा गर्न नपाउने निर्णय गरिएको छ । साथै एसभीईएसका आधारमा भारतमा रहेका पाकिस्तानीलाई ४८ घण्टाभित्र भारत छोड्न आदेश दिइएको छ । दिल्लीस्थित पाकिस्तानी उच्चायोगका अधिकारीहरुलाई ७ दिनभित्र भारत छोड्न समय दिइएको छ भने इस्लामावादमा रहेको भारतीय उच्चायोगका अधिकारीलाई पनि फिर्ता बोलाइएको छ ।

मंगलबार जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपालका सन्दीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो भने कयौँ व्यक्ति घाइते भएका थिए । भारतले यो आक्रमण लगायत जम्मु कश्मीरमा हुने आतंकवादी गतिविधिमा पाकिस्तानको समर्थन रहने गरेको आरोप लगाएको छ ।

यता पाकिस्तानले पनि भारतले कुटनीतिक सम्बन्ध स्थगित गरेसँगै आफ्नो सुरक्षा परिषद्को बैठक बसेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस