चैत १८, काठमाडौँ । दस महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलेको छ। सोमबार (आज) देखि कलिङ भिसा पाइसकेकाहरुले श्रम स्वीकृति पाउने वैदेशिक रोजगार विभागले जनाएको छ।
वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै सोमबारबाट श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार कलिङ भिसा पाएकाहरुको संख्या ७ हजारभन्दा बढी छ।
करिब एक महिनाअघि श्रम विभागले सूचना जारी गरी कलिङ भिसा लिएकाहरुको तथ्यांकमा गरेको थियो।
कामदारमाथि आर्थिक भार पारेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गतेबाट तत्कालका लागि कामदार नपठाउने निर्णय गरेका थिए।
कामदारमाथि आर्थिकभार पारेको भन्दै विभिन्न पाँच ओटा संस्थालाई कारबाही प्रक्रिया अगाडि बढाएका थिए। कामदार पठाउन रोक लगाएपछि कलिङ भिसा पाएकाहरु पनि मलेसिया जानबाट वञ्चित भएका थिए।