आर्थिक अपचलन गर्ने पशुपति क्षेत्र विकास कोषका कर्मचारी बर्खास्त

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २६, शुक्रबार (१६ घण्टा अघि)
  • ७५ पटक पढिएको
आर्थिक अपचलन गर्ने पशुपति क्षेत्र विकास कोषका कर्मचारी बर्खास्त

वैशाख २६, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिना र अपचलनमा संलग्न एक कर्मचारीलाई बर्खास्त गरेको छ । कोषका सदस्यसचिव डा मिलनकुमार थापाका अनुसार ३६ लाख ५० हजार ९५५ रुपैयाँ हिनामिना गर्ने लेखापाल ईश्वरबहादुर दवाडीलाई बर्खास्त भएका हुन् ।

सदस्यसचिव थापाले कोषभित्र आर्थिक सुशासन र पारदर्शिताको प्रत्याभूति गर्न आर्थिक अपचलन र हिनामिनामा संलग्न कर्मचारीलाई कारबाही गरेको बताए । भगवान पशुपतिनाथको सेवा गर्ने जिम्मेवारी पाएकै व्यक्तिबाट आर्थिक अनियमितता भएको खुलेपछि कारबाही गर्नुको विकल्प नरहेको उनले बताए ।

उनका अनुसार लेखापाल दवाडीले कोषको आम्दानी रकम तोकिएको खातामा जम्मा नगरी आफूले मासेर हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेकाले कारबाही गरिएको हो । २०४४ सालमा कोषको ऐन जारी भएयता केही कर्मचारीलाई निलम्बन गरिए पनि आजीवन अयोग्य हुने गरी बर्खास्त गरिएको यो पहिलो निर्णय हो ।

कारबाहीमा परेका दवाडीले वैशाख २३ गते स्पष्टीकरण पेश गरी हिनामिना गरेको बेहोरामा साबिती भई केही रकम जम्मा गराएको बताएका थिए । कोषका अनुसार उनीसँग आठ लाख ९३ हजार ४३८ रुपियाँ लेखापाल असुल गर्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस