सगरमाथा आरोहण शुरु, ४२१ जनालाई अनुमति

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८२ बैशाख २७, शनिबार (११ घण्टा अघि)
  • ४५ पटक पढिएको
सगरमाथा आरोहण शुरु, ४२१ जनालाई अनुमति

वैशाख २७, काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ ।

एटके एक्सपिडिसन कम्पनीका अशोक लामाको नेतृत्वमा सात शेर्पाको टोलीले सगरमाथाको चुचुरोसम्म पुगेर डोरी टाँगेको हो । टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा छन् । यो पटक सगरमाथाको ‘रोप फिक्सिङ’मा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ ।

‘सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यो वर्षको सगरमाथा आरोहण औपचारिकरूपमा शुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन्’, विभागका निर्देशक लीलाधर अवस्थीले भने । मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको उनले बताए ।

एटके एक्सपीडिसनका प्रबन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए । ‘मौसम अनुकूल छ । आजदेखि विदेशी आरोहीको आरोहण शुरु हुन्छ । अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन्’, उनले भने ।

सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन् । मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र यो अवधिमा धेरै आरोहण हुने एक्सिपिडिसन कम्पनीको अनुमान छ । मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पटक आरोहणमा जाम हुनसक्ने जनाइएको छ ।

पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एकदुई टिम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस