हाम्रा वीर गोर्खा: सिमामा विरता, घरमा आशुको धारो

  • अनलाइन केन्द्र
  • / विचार/दृष्टिकोण /
  • २०८२ बैशाख २७, शनिबार (७ घण्टा अघि)
  • २९२ पटक पढिएको
हाम्रा वीर गोर्खा: सिमामा विरता, घरमा आशुको धारो

-कौशल उप्रेती

जब युद्ध सुरु हुन्छ, त्यसले नक्साको रेखामात्र होइन, हजारौँ सपनाहरू पनि च्यातिदिन्छ। भारत–पाकिस्तानबीचको पछिल्लो युद्ध अहिले रणनीति र आक्रमणको विश्लेषणमा सीमित छैन—यो युद्ध एउटा यस्तो अदृश्य आँधी हो, जसले नेपाली मनहरू पनि हल्लाइरहेको छ। खासगरी ती नेपाली परिवारहरूको मन, जसका प्रियजनहरू भारतको गोर्खा रेजिमेन्टमा रहेर युद्धको अग्रपंक्तिमा लडिरहेका छन्।

गोर्खाहरूको इतिहास वीरताको महाकाव्य हो। विश्वयुद्धदेखि कारगिलसम्म, उनीहरूले आफ्नो बलिदानले इतिहास रचिरहे। “जय महाकाली, आयो गोर्खाली!” भन्ने नारा केवल एउटा युद्धघोष होइन, त्यो त पीढी–पुस्तादेखिको असाधारण शौर्यको प्रतीक हो। तर यो नारा सुनिँदासमेत, सानो पहाडी गाउँको कुनै एक आमाको आँखामा आँसु आउँछ, किनकि त्यही नारा बोकेर गएका उनका छोराको खबर महिनौँदेखि आएको छैन। यो युद्धको समयमा गोर्खा सैनिकहरू मैदानमा लडिरहेका छन्, तर उनीहरूका आमा, बुबा, श्रीमती र छोराछोरीहरू पनि आफ्नै किसिमको युद्ध लडिरहेका छन्—प्रतीक्षाको, भयको, र विश्वासको।

कुनै आमाले छोरा सकुशल फर्कोस् भनेर व्रत बस्छिन्, कुनै पत्नीले खबर नआउँदासम्म निद्रा पर्दिन। र कुनै छोरीले आकाश हेरेर सोध्छे—“बुवा कहिले आउनुहुन्छ?” हामीले गोर्खाहरूको साहसलाई सम्मान गर्छौं। तर उनीहरूको मौन पीडालाई कति हेर्यौं? युद्ध सकिएपछि राष्ट्रले पदक दिन्छ, सरकारले प्रशंसा गर्छ, तर उनीहरूको परिवारको घाउले त वर्षौँ पोलिरहन्छ। त्यस्तो पीडा जसले कुनै चर्को आवाज गर्दैन—तर हर रात निन्द्रामा चिच्याउने सपना बन्छ। गोर्खा हुनु सजिलो छैन।

आफ्नो देश छोडेर अर्काको झन्डा तान्नु पनि सजिलो छैन। तर उनीहरूले त्यो कार्य गरिरहे, किनकि उनीहरूलाई धर्मभन्दा ठूलो कर्तव्य लाग्यो। उनीहरूले युद्ध जित्नका लागि बन्दुक उठाए, तर उनका आफन्तहरू हरेक दिन शान्ति जित्नका लागि आँशु पुछिरहे। हाम्रो समाजले अब उनीहरूको मात्र वीरताको सम्मान होइन, उनीहरूको परिवारको साहसको पनि सम्मान गर्न सक्नुपर्छ। किनभने एक जना गोर्खा सैनिक मात्र युद्ध लड्दैन—त्यो युद्धसँग हजारौँ सपना, भावना र सम्बन्धहरू पनि लडिरहेका हुन्छन्। त्यसैले, यो युद्धको पृष्ठभूमिमा हाम्रो मनको आवाज यस्तै होस्— “शस्त्र चल्न सक्छ, तर संवेदना हराओस् भनेर होइन। हाम्रा गोर्खा छोराहरू सकुशल फर्कून्। र फेरि उनीहरूले बोकेको वीरताको कथा, आँसु होइन, हाँसोका अक्षरमा लेखियोस्।”

ताजा अपडेट

खोजी गर्नुहोस