जेठ ९, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही मधेश, बागमती, लुम्बिनी र कर्णालीको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
राति कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।