हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना नगर्न उर्दी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ९, शुक्रबार (१९ घण्टा अघि)
  • ५७ पटक पढिएको
हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना नगर्न उर्दी

जेठ ९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डको विदेशी विद्यार्थी भर्ना अनुमति खारेज गरेको छ ।

ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयले सरकारका नीतिगत कुरा कार्यान्वयन गर्न नमानेका कारण कडा कारवाही स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमति खारेज गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै हार्भर्ड विश्वविद्यालयले अब विदेशी विद्यार्थी भर्ना गर्न सक्दैन र हाल अध्ययनरत विदेशी विद्यार्थीहरूले अन्यत्र सर्नु वा आफ्नो कानुनी हैसियत गुमाउनु पर्ने अमेरिकी गृह सुरक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हार्भर्ड र ट्रम्प प्रशासनबीच महिनौँदेखि द्वन्द्व चलिरहेको छ । ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिहरूको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ ।

गृह सुरक्षा मन्त्री क्रिस्टि नोएमले हार्भर्डले गत महिना गृह सुरक्षा विभागले माग गरेको विदेशी विद्यार्थीहरूको आचरण सम्बन्धी अभिलेखहरू बुझाउन अस्वीकार गरेकाले विश्वविद्यालयको विद्यार्थी तथा आगन्तुक आदानप्रदान कार्यक्रम रद्द गर्न निर्देशन दिएकी थिइन् ।

यो निर्णयले विद्यार्थीहरुलमा अन्योल छाएको छ । प्राध्यापकहरूले भने विदेशी विद्यार्थीहरूको सामूहिक पलायनले विश्वविद्यालयको शैक्षिक स्तरमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।

ह्वाइट हाउसले विदेशी विद्यार्थी भर्ना गर्नु अधिकार होइन, विशेषाधिकार भन्दै यस संस्थालाई अहिले राष्ट्रविरोधी, यहुदी विरोधी र आतंकवादी समर्थक आन्दोलनकारीहरूको थलोमा रूपान्तरण गरेको आरोप संस्थाका नेतृत्वमाथि लगाएको छ । प्रशासनले विश्वविद्यालयमा अपनाइएका जातीयता, समावेशिता र समानताको नाममा चलाइएका जातिवादी अभ्यासहरू हटाउन पनि दबाव दिइरहेको छ ।

विद्यार्थी र कर्मचारीहरूको दृष्टिकोण सम्बन्धी अडिट संघीय सरकारको भूमिका भन्दा परको कुरा भएको र त्यसले हार्भर्डको संविधानप्रदत्त अधिकारको उल्लङ्घन गर्न सक्छन् भन्ने तर्क विश्वविद्यालयको नेतृत्वले गर्दै आएको छ । विश्वविद्यालयले आफ्नो शैक्षिक स्वतन्त्रताको सबैभन्दा कडा रुपमा बचाउ पनि गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस