किसानलाई बाख्राको पाठी उपहार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २५, आईतबार (८ घण्टा अघि)
  • ८२ पटक पढिएको
किसानलाई बाख्राको पाठी उपहार

जेठ २५, बागलुङ । ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा मालिकाका महिलालाई बाख्राका पाठी वितरण गरेको छ ।

नगरपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा बागलुङ नगरपालिकाभित्रका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम लागू गरिएको छ ।

आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत मालिकामा गठित तीन अगुवा आमा समूहमार्फत गत वर्ष १९ बाख्राको पाठी प्राप्त गरेका महिलाले अहिले १९ पाठा उपहारमा छिमेकीलाई प्रदान गरेका छन् ।

शुरुको वर्ष खरिद गरेर प्रदान गरेको बाख्राबाट जन्मेको पहिलो पाठी उपहारस्वरूप समूहकै अर्का सदस्यलाई दिनुपर्ने नियमानुसार असारभित्र नगरपालिकाका १० वडामा १०४ पाठी उपहारस्वरूप प्रदान गर्न थालिएको छ ।

उपहार कार्यक्रमले महिलालाई आयआर्जनमा सघाउने भएकाले आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले उपहारस्वरूप १९ बाख्राका पाठी विपन्न तथा लक्षित महिलालाई वितरण गरेका थिए ।

उनका अनुसार, मालिकाको उच्च भेगका विभिन्न वडामा बाख्रापालनको निकै सम्भावना छ । ‘परम्परागत रूपमा बाख्रापालान नभएको होइन, व्यावसायिक बन्न खोर सुधार तथा बाख्राको स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ’, उनले भनिन्, ‘बाख्राको पाठामात्रै दिँदैनौँ, बाख्रापालनको सीप, खोर सुधार र आयआर्जनको रकम बचत गर्न सिकाउँछौँ।’ नगरपालिकाका १४ मध्ये १० वडामा यो कार्यक्रम सञ्चालनमा आएको छ ।

कार्यक्रमबाट दुई वर्षमै २०८ महिला लाभान्वित भएका छन् । उनीहरूलाई बाख्रापालनका लागि बिउपुँजीबाट सहयोग मिलिरहेको छ। समूहअन्तर्गत रहेका महिला विस्तारै बाख्रापालनको रकमलाई बचत गर्दै लैजाने योजनामा छन् । आत्मनिर्भर बागलुङ कार्यक्रम १८ मूल समूहअन्तर्गत ७२ उपसमूह गठन भइसकेका छन् ।

महिलाहरूलाई दिएको पाठीलाई हुर्काउने र बिउपुँजीका रूपमा विकास गर्दा आयआर्जनमा सघाएको भन्दै अन्य पालिकामा महिलाले बाख्रापालन गरेरै सहकारी चलाउने र करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस