जेठ २५, काठमाडौं । मकवानपुर र ललितपुरलाई जोड्ने बागमती नदीको बगुवा खोलामा बेलिब्रिज जडान गरिएपछि कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ ।
कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई. उपेन्द्र महरानका अनुसार गएराति बेलिब्रिज जडान कार्य सम्पन्न भएकोले आज बिहान ९ बजेदेखि राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको हो ।
गत वर्ष असोजमा आएको बाढीले पुलको मकवानपुरतर्फको भाग भत्काएपछि डाइभर्सनमार्फत् सवारी साधन सन्चालन हुँदै आएका थिए । तर डाइभर्सन गरिएको स्थानमा राखिएका ह्युमपाइप सानो बाढीले पनि बगाइदिने गरेकाले यात्रा अप्ठेरो हुने गरेको थियो ।
हालै बेलिब्रिज जडान गर्नका लागि चार दिनसम्म डाइभर्सनबाट पनि यात्रा गर्न रोक लगाइएको थियो । बेलिब्रिज जडान कार्य सम्पन्न भएर गाडी पनि चल्न थालिसकेकाले अब कान्ति राजमार्गमा यात्रा सहज हुने अपेक्षा छ ।
आयोजनाका प्रवक्ता ई. महरानले बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्रै रहेकााले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर दुवैतर्फ मालबाहक सवारी साधनलाई निगरानी गर्न अनुरोध गरेको बताए ।
यस्तै गिरुवारी खोला र अरुणखोला पुलमा ४० टनभन्दा बढी भारवहन क्षमता भएका गाडी चलाउन रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पुलहरू जीर्ण बनेको र नयाँ पुल निर्माणाधीन भएकाले सुरक्षाको हिसाबले यस्तो गरिएको जनाएको छ ।
पुलमा हाललाई ठूला मालबाहक गाडीहरू ट्रक र टिप्परहरूलाई एक पटकमा एकतर्फी मात्र सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ । केही दिनअघि चोरमारा गिरुवारी खोला पुल भासिएको थियो ।
अहिले सञ्चालनमा रहेका गिरुवारी र अरुणखोला पुलहरूको अवस्था कमजोर भएकाले सडक डिभिजन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । सुरक्षा जोखिमका कारण प्रहरीले अहिले २४ घण्टा निगरानी तथा सुरक्षा व्यवस्था मिलाएको छ ।