नेपाल स्कटल्याण्डसङ्ग २ रनले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २६, सोमबार (९ घण्टा अघि)
  • ५७ पटक पढिएको
नेपाल स्कटल्याण्डसङ्ग २ रनले पराजित

जेठ २६, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । गएराति सम्पन्न खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।

स्कटल्याण्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट भयो । नेपालका लागि भिम सार्की, दिपेन्द्र सिंह ऐरि र सोमपाल कामिले अर्धशतकीय पारी खेले ।

सार्कीले सर्वाधिक ७३ रन बनाए भने दिपेन्द्र सिंह ऐरिले ५६ रन तथा सोमपाल कामिले ६७ रन बताए । यस्तै आरिफ शेखले ३९, गुल्सन झाले ११, करण केसी १७ रन बनाए भने अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।

स्कटल्याण्डका म्याकेन्जी जोन्सले ३ तथा शफिया शरिफ र माइकल लिस्कले २/२ विकेट लिँदा ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १/१ विकेट लिए ।

त्यसअघि स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाएको थियो । स्कटल्याण्डका लागि कप्तान रिची बेरिङटन र माइकल लिस्कले छैटौँ विकेटका लागि १ सय २३ रनको कीर्तिमानी साझेदारी गरे । बेरिङटनले १०२ रन तथा लिस्क ९६ रनमा नटआउट रहे ।

यस्तै ओपनर चार्ली टियरले ६८ मार्क वाटले २१ रन जोडे ।

नेपालका करण केसी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए ।

यसअघि दुई खेल खेलेको नेपालले स्कटल्यान्डलाई १ विकेटले तथा दोस्रो खेलमा नेदरल्यान्डलाई ५ विकेटले हराएको थियो । यस्तै स्कटल्यान्डले पनि यसअघि नेदरल्यान्डलाई ४४ रनले हराएको थियो ।

अब सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार नेदरल्यान्डसँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस