जेठ २६, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली आइतबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्त्रेका छन् । अमेरिकी कानुन उल्लंघनको आरोपमा अमेरिकाले थप ३७ नेपालीलाई डिपोर्ट गरेको हो ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट ३२ पुरुष र ५ महिलालाई नेपाल फर्काएको हो । अमेरिकाले यो विमानमा भारत र बंगलादेशका नागरिकलाई पनि फिर्ता ल्याएको थियो ।
यसअघि अमेरिकाले १४० नेपालीलाई निष्कासन (डिपोर्ट) गरी नेपाल फर्काएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा हालसम्म १ सय ७७ जना नेपाली निष्कासनमा परेका छन् । यसरी डिर्पोट भएकाहरुलाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गरेर सूचना संकलन गर्ने गरेको छ ।
विमानस्थल अध्यागमन कार्यालयका अनुसार अमेरिकाबाट निष्कासनमा परेका अधिकांश नेपाली मानव तस्करीमा संलग्न संगठित गिरोहलाई मोटो रकम बुझाएर एसिया, युरोप र अफ्रिकाका विभिन्न देश हुँदै अमेरिका छिर्नेहरू बढी छन् । केही व्यक्ति भने विभिन्न कार्यक्रममा अमेरिका गएर उतै गैरकानुनी रूपमा बसोबास गर्दै आएका पनि छन् ।
गिरोहलाई रकम बुझाएर जानेहरूमा रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ, अर्घाखाँचीलगायत जिल्लाका बढी छन् । यसरी अवैध बाटोबाट महिनौं लगाएर अमेरिका छिर्नेहरूले गिरोहलाई १ करोड रुपैयाँसम्म बुझाउने गरेका तथ्यहरू नेपाल प्रहरीको अनुसन्धानबाट खुलिसकेको छ ।
अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालसहितका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको हो । ट्रम्प प्रशासनले ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ ९आइस० मार्फत विभिन्न देशबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने सूचीमा राखे छ ।
जसमा सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, भेनेजुएलाका नागरिक गैरकानुनी रूपमा बसोबास गरिरहेको विवरण यसअघि नै सार्वजनिक भएको थियो ।