नागढुंगा सुरुङको प्राविधिक परीक्षण सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २६, सोमबार (८ घण्टा अघि)
  • ७० पटक पढिएको
नागढुंगा सुरुङको प्राविधिक परीक्षण सुरु

जेठ २६, काठमाडौं । ‘नागढुंगा–सिस्नेखोला’ सुरुङमार्गको प्राविधिक परीक्षण ९फेसिलिटेट टेस्टिङ० सुरु गरिएको छ । मुख्य सुरुङभित्रको निर्माणकार्य सकिएसँगै सुरुङ सञ्चालनअघिको ‘फेसिलिटेट टेस्टिङ’ सुरु गरिएको हो ।

सुरुङको मुख्य लेनलाई कंक्रिट गरिएपछि अहिले ‘फेसिलिटेट टेस्टिङ’ गर्न लागिएको परियोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । अग्नि नियन्त्रण, टेलिफोन, सेफ्टी, सिसिटिभी, अक्सिजनसहितको भेन्टिलेसन, बिजुलीको परीक्षणलाई ‘फेसिलिटेट टेस्टिङ’ भनिन्छ ।

उनले एक साताअघि मुख्य टनेलमा बिजुली जडान गरेर आवश्यक उपकरण चार्ज गरिसकिएको र अन्य प्राविधिक परीक्षणका काम सफल भएपछि सुरुङ सञ्चालनका लागि योग्य हुने बताए । साथै उनले सुरुङ सञ्चालनका लागि पनि केही समय सवारीसाधन गुडाएर परीक्षणसमेत गरिनुपर्ने उनले बताए ।

३ वैशाख ०८१ मा छिचोलिएको २६ सय ८८ मिटर लामो मुख्य टनेलको सडक लेनलाई ‘कन्टिन्युअस्ली रिइन्फोस्र्ड कंक्रिट पेवमेन्ट’ (सिआरसिपी) प्रविधिबाट कंक्रिट गरिएको छ । क्रस प्यासेजसहित रेस्क्यु टनेललाई भने ‘रिइन्फोस्र्ड कंक्रिट पेवमेन्ट’ (आरसिपी) प्रविधिबाट कंक्रिट गरिँदै छ ।

जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पुस २०७७ देखि निर्माण गरेको सुरुङ परियोजनाको भौतिक प्रगति ८९.१ प्रतिशत भएको छ । परियोजनाको वित्तीय प्रगति भने ७८.७ प्रतिशत रहेको छ ।

सडक बोर्डले आगामी पुस महिनाबाट सञ्चालनमा आउने बताइएको सुरुङमा गुड्ने सवारीसाधनका लागि टोल ट्याक्स मन्त्रिपरिषद्मा पेस गरिसकको छ । सोमबारको मन्त्रिपरिषद्ले सुरुङमार्गका लागि प्रस्ताव गरिएको टोल ट्याक्स पनि स्वीकृत गर्ने सम्भावना रहेको बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बताए ।

सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले काठमाडौंबाट भित्रिने र बाहिरिने सवारीसाधनलाई फरक–फरक टोल ट्याक्स प्रस्ताव गरेको बताए । त्यसमा पनि गाडीको प्रकृतिअनुसार फरक–फरक दर प्रस्ताव गरिएको उनको भनाइ छ ।

उनका अनुसार साना गाडी (कार, भ्यान, पिकअप, माइक्रो बसलगायत)लाई सुरुङबाट उपत्यका भित्रिँदा ७५ रुपैयाँ र बाहिरिँदा ५० रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । टिपर, मिनी बस र मिनी ट्रकलाई उपत्यका भित्रिँदा एक सय २५ रुपैयाँ र उपत्यकाबाट बहिरिँदा एक सय रुपैयाँ शुल्क लाग्ने प्रस्ताव गरिएको छ ।

यसैगरी बस र ट्रकलाई उपत्यका भित्रिँदा दुई सय ५० रुपैयाँ र बाहिरिँदा दुई सय रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । यसैगरी, लरी (हेभी सवारी)लाई उपत्यका भित्रिँदा पाँच सय रुपैयाँ र बाहिरिँदा तीन सय रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । मोटरसाइकलजस्ता दुईपांग्रे र तीनपांग्रे सवारीसाधनलाई भने सुरुङ प्रवेशमा निषेध गरिएको छ । यो दर दुई वर्षपछि पुनरावलोकन गरिने सडक बोर्डको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस