लोमान्थाङको दिव्य दीप विद्यालयको भवन निर्माणको शिलान्यास

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २६, सोमबार (७ घण्टा अघि)
  • ४६ पटक पढिएको
लोमान्थाङको दिव्य दीप विद्यालयको भवन निर्माणको शिलान्यास

जेठ २६, मुस्ताङ । लोमान्थाङ गाउँपालिकास्थित श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माणको शिलान्यास गरिएको छ । आइतबार भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त भवनको निर्माणको शिलान्यास गरेका हुन् ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत उक्त भवन निर्माणका लागि भारत सरकारले ३ करोड ७६ लाख रुपैँया आर्थिक सहयोग रहेको छ । यस परियोजना अन्तर्गत शौचालय, बाथरूम, भोजन कक्षसहितको भान्छा गृह, विश्राम कक्ष र अन्य सम्बद्ध सुविधाहरूको निर्माण हुनेछ । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा स्वीकार गरी लोमान्थाङ गाउँपालिकाले गर्ने जनाइएको छ ।

दिव्य दीप विद्यालय माथिल्लो मुस्ताङमा रहेको एक मात्र उच्च माध्यमिक विद्यालय हो । यसले लो-घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा बस्ने बालबालिकाहरूलाई सेवा प्रदान गर्दछ । यस विद्यालयले अनुभवी र प्रेरणादायी शिक्षकहरू मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।

भारत सरकारले सन् २००३ यता नेपालमा शिक्षा, स्वास्थ्य, सडक र पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, कृषि, संस्कृति र समाज कल्याण लगायत विभिन्न क्षेत्रहरूमा ५७३ एचआइसीडीपीहरुमा कार्य गरेको छ । यी परियोजनाहरू नेपालका सातै प्रदेशहरूमा फैलिएका छन् ।

५७३ परियोजनाहरू मध्ये ५९ वटा परियोजनाहरू गण्डकी प्रदेशमा छन् । जसमध्ये मुस्ताङमा १७ वटा परियोजनाहरू छन् । साथै भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ ।

जसमध्ये गण्डकी प्रदेशका विभिन्न संस्थाहरूलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कूल बस उपहार स्वरुप प्रदान गरिएकोमा  मुस्ताङका लागि ११ वटा एम्बुलेन्स र ५ वटा स्कूल बस प्रदान गरिएको छ ।

कार्यक्रमको अवसरमा भारतीय दूतावासका नियोग उप-प्रमुख श्रीवास्तवले वर्षौंदेखि रहिआएको भारत-नेपाल विकास साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा खुशी व्यक्त गरे । उनले नेपाल सरकार र नेपाली जनताको प्राथमिकतामा आधारित रही यस साझेदारीलाई थप प्रगाढ र सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता दोहोर्‍याए ।

यस्तै गाउँपालिकाका अध्यक्ष गुरुङले भारत सरकारले गरिरहेको सहयोगमा खुसी व्यक्त गर्दै पूर्वाधार निमाणले दिव्य दीप विद्यालयका विद्यार्थीहरूको लागि सिकाइको उपयुक्त वातावरण सिर्जना गर्न मद्दत गर्ने बताए ।

नियोग उप-प्रमुखले लोमान्थाङस्थित लोवो निफुग नामड्रोल नोर्वुलिङ्ग मोनास्टिक स्कूलको समेत भ्रमण गरेका थिए । यस स्कूलको छात्रावास भवन हाल भारत सरकारको आर्थिक सहयोगमा नेरु. ४.१४ करोड परियोजना लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्माण भइरहेको छ ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थित रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस