आईसीसीद्वारा क्रिकेटका नियममा नयाँ परिवर्तन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ १, आईतबार (२० घण्टा अघि)
  • ५८ पटक पढिएको
आईसीसीद्वारा क्रिकेटका नियममा नयाँ परिवर्तन

असार ०१, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय खेलको दुई बलको नियम र सबै ढाँचामा लागू हुने कन्कसन-सब्स्टिच्युट (चोटग्रस्त खेलाडीको विकल्प) सम्बन्धी नियममा प्रस्तावित परिवर्तनलाई अनुमोदन गरेको छ ।

आइसिसीको पुरुष क्रिकेट समितिले सिफारिस गरेका र प्रमुख कार्यकारी समितिले पारित गरेका यी नयाँ खेल नियमहरू टेस्टमा जुन १७, एकदिवसीयमा जुलाई २ र टी-२० मा जुलाई १० देखि लागू हुनेछन् ।

हाल पुरुष एकदिवसीय खेलको एक इनिङ्समा दुईवटा नयाँ बल प्रयोग गरिन्छ, जसमा प्रत्येक छेउबाट एक/एक बलले बलिङ गरिन्छ । संशोधित नियम अनुसार, अब इनिङ्सको सुरुवातदेखि ३४ औं ओभरको अन्त्यसम्म दुईवटा नयाँ बल प्रयोग गरिनेछ ।

त्यसपछि, ३५ देखि ५० ओभरसम्म बलिङ टोलीले ती दुईमध्ये एउटा बल रोजेर दुवै छेउबाट बलिङ गर्न प्रयोग गर्नेछ । आइसिसीका अनुसार यो परिवर्तनको उद्देश्य ब्याट र बलबीचको सन्तुलन पुनः मिलाउनु हो ।

यदि पहिलो इनिङ्स सुरु हुनुअघि नै खेल प्रतिसाइड २५ ओभर वा सोभन्दा कममा घटाइयो भने, बलिङ टोलीले पूरै इनिङ्सका लागि एउटा मात्र नयाँ बल प्रयोग गर्न पाउनेछ ।

कन्कसन-सब्स्टिच्युट सम्बन्धी नयाँ नियम
नयाँ कन्कसन नियम अनुसार, टोलीहरूले खेल सुरु हुनुअघि नै म्याच रेफ्रीलाई एक र एक विकेटकिपर, ब्याटर, सिम बलर, स्पिन बलर र अलराउन्डर भूमिकाहरू अनुसार आफ्ना सब्स्टिच्युट खेलाडीहरूको सूची बुझाउनु पर्नेछ ।

यसका साथै, क्याच सम्बन्धी खेल नियममा पनि सामान्य परिवर्तन गरिएको छ, जसमा एमसीसी ले बाउन्ड्री बाहिरबाट गरिने ‘बनी हप’ क्याचलाई अमान्य ठहर गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस