असार ९, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयारी गरेको छ । असार १० गतेको बैठकमा विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने तयारी रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यसैबीच सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले आफ्ना सांसदलाई ह्विप लगाएको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन र विनियोजन विधेयकका पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।
यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि बजेट पारित गर्न ह्विप जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।