असार ९, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार धरौटीमा छाड्न आदेश गरेको हो ।
धरौटीमा रिहा भएसँगै उनलाई पुन प्रकाउ गरिएको छ । प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धिकरण विभाग पठाएको छ । सम्पत्ति शुद्धिकरणमा विभागबाट सिआबीमा पत्र आएपछि उनलाई पुन पक्राउ गरिएको हो ।
सीआइबीले गत शुक्रबार रोकालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो ।
आइतबार अदालतमा उपस्थित गराएर उनको बकपत्र गराइएको थियो । तर बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज थुनछेक बहसपछि उनलाई धरौटी माग गरिएको हो ।
२०८० भदौमा अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । २६ जना पक्राउ परेका थिए । अमलासँगै भोला साह, जीवन चलाउने पनि फरार थिए ।
अमला सुनकान्डमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । रोल्पाकी माओवादी नेतृ समेत रहेकी अमलाको ठमेलको होटेल भियना रहेको छ ।
राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलि ल्याइएको ६१ किलो सुन बरामद गरेको थियो । १९ दिन विभागले नै अनुसन्धान गरेर थप अनुसन्धानको लागि सीआईबीलाई दिइएको थियो ।