साउन १, काठमाडौँ । तराईमा बाढी र डुबानका कारण अलपत्रमा परेकाको उद्धार सकेलगत्तै राहतका लागि क्षतिको विवरण सङ्कलन अभियान सुरु भएको छ ।
घरबारविहीन भएकालाई शिविरमा राखेर तत्कालीन राहतसहित विवरण सङ्कलन गरिँदैछ । हरेक टोल, गाउँ र नगर क्षेत्रमा भएका मानवीय, भौतिक र आर्थिक क्षतिको पूर्ण विवरणको सङ्कलन सुरु भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
विपद्पछि भएको जनधनको क्षति, भौतिक संरचनाको पूर्ण क्षति, आंशिक तथा अन्य क्षतिको अवस्था यकिन गरेपछि मात्र ठोस राहत प्रदान गर्न सकिने प्रमुखहरूको भनाइ छ ।
गृह मन्त्रालयले भने स्थानीय तह, प्रदेश र केन्द्रको संयोजनमा एकद्वार प्रणालीबाट राहत वितरणको प्रक्रिया सुरु भएको जनाएको छ । जसका लागि तथ्याङ्क सङ्कलन र अद्यावधिक गर्ने काम अधिकांश क्षेत्रमा भइरहेको जानकारी प्राप्त भएको छ । स्थानीय र प्रदेशले नधानेको खर्च केन्द्रले बेहोर्ने आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए ।
सर्पको बिगबिगी
बाढी र डुबानमा परेको क्षेत्रमा यतिबेला सर्पदंशको सबैभन्दा बढी त्रास बढेको छ । त्यसैगरी स्थानीय तहबाट प्राप्त जानकारीअनुसार घरपालुवा पशुपक्षी मरेका, जमिन हिलो, चिसो, ओस बढी भएको, सफा पिउनेपानी र खाद्यान्न नहुनाले सङ्क्रमणकालीन रोग फैलन सक्ने खतरा बढेको छ ।
तराईका २५ जिल्लामा बाढी पसेर बगाउने र डुबानमा पारेको बस्तीहरूको जनजीवन अझै सामान्य बन्न समय लाग्नेछ । तथापि, राहत वितरणका लागि तथ्याङ्क अद्यावधिक गर्नुपर्ने भएकाले प्रभावित नगरपालिका र गाउँपालिकाका वडाध्यक्षको नेतृत्वमा विवरण सङ्कलन थालिएको जानकारी दिइएको छ ।