साउन ८,काठमाडौ । सत्तारुढ नेकपामा पार्टी स्कुल विभाग कसले पाउने भनेर तानातान भइरहेको बेला स्थायी समिति सदस्य बेदुराम भुषलले पनि सो विभागको प्रमुखमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।
नेकपा एमालेमा छँदा स्कुल विभागमा रहेर काम गरिसकेका सदा जीवन उच्च विचारका वौद्धिक व्यक्तित्व भुषालले विभाग प्रमुखमा आफ्नो पनि दावी रहेको धारण राखेका हुन् ।
दर्शनशास्त्र र माक्र्सवादका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी समेत गरेका भुषालले आफुले अन्य नेताहरुले जस्तो प्रचार नगराए पनि सो दावीका बारेमा शिर्ष नेताहरुसंग कुरा गरिसकेको स्पष्ट पारेका छन् ।
अहिले सो विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य तथा पुर्व एमाले महासचिव इश्वर पोखरेल र घनश्याम भुषालको दावी रहेको चर्चा चलिरहेको छ ।
‘पार्टी स्कुल विभागमा मेरै पनि रुचि थियो । मैले नेताहरुलाई यस विषयमा भनेको पनि छु । तर मैले अरुले जस्तो प्रचार गरेको छैन । त्यस्तो गर्न जरुरी पनि छैन । किनभने पार्टीभित्र मान्छेलाई कुन काम दिने, नेताहरुले कुन काम लिने भन्ने कुरा सामान्य प्रक्रिया हो ।’ नेता भुषालले भने , ‘यसलाई बाहिर लाने, प्रचार गर्ने तरिका बेठिक तरिका हो ।’ आफु पुर्व एमालेमा पार्टी स्कुल विभाग प्रमुख हुँदा पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेर कक्षा सञ्चालन गरेको उनले दावी समेत गरे ।
‘अरु कसैको पालामा पनि यस्तो काम भएको छैन । पाठ्यक्रम पहिल्यै मोदनाथजी छँदा हामीले बनाएको थियौं । त्यसलाई परिमार्जन गरेर फेरी बनायौं । पार्टी शिक्षा भाग १, २ र ३ भन्ने पार्टी स्कुलको पाठ्यक्रमका आधारमा पाठ्य पुस्तक समेत लेखेर कक्षा चलाउने म मात्र प्रमुख हुँ । त्यस हिसावले मैले दावा गर्नु स्वभाविक कुरा हो ।’–उनको तर्क थियो ।