साउन १२, काठमाडौँ । यतिखेर सत्तारुढ नेकपा स्कुल विभागको लडाईंमा छ । प्रमुख दावेदार मानिएका ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको रस्साकस्सीमा नेकपा विभाजित छ । यद्यपी पार्टी पंक्तिकै वैचारिक नेता घनश्याम भुसाल र वेदुराम भुसालले पनि आफ्नो दावी भने छाडेका छैनन् । स्कुल विभागमा अनिर्णित बनेको सत्तारुढ नेकपाले अर्को बहाना बनाउँदै सचिवालय बैठक धकल्दै गएको छ।
खासगरी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेल र श्रेष्ठमध्ये कसलाई स्कुल विभागको प्रमुख बनाउने भन्नेमा निर्णय लिन डराएपछि विभिन्न बहानामा पूर्वनिर्धारित सचिवालय बैठकहरु अन्तिम समयमा आएर स्थगित गर्न थालेका छन्।
चार दिन अघि असार ९ गते निर्धारित बैठक आफ्नो व्यस्तताको कारण देखाउँदै बैठक स्थगितको सूचना जारी गरेका ओलीले आइतबार बिरामी भएको जानकारी गराउँदै बैठक स्थगित गरेको जानकारी गराएपछि सचिवालय सदस्यहरु रुष्ट भएका छन्।
त्रिवी शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा ठाउँ खाली नभएको भन्दै शनिबार छाउनस्थित बीरेन्द्र सैनिक अस्पताल पुगेर ओलीले नियमित स्वास्थ्य जाँच गरेको चिकित्सकले दाबी गरेपनि आफु अस्वस्थ भएकाले बैठक सञ्चालन हुन नसक्ने जानकारी गराउनु बहाना मात्रै भएको र उनले विवाद टार्न खोजेको भन्दै सचिवालय सदस्यहरु सशंकित भएका हुन्।
सचिवालयका एक सदस्यले भने, ‘अध्यक्षज्यूले स्कुल विभाग कसलाई दिने भन्नेमा निर्णय नै लिन सक्नु भएको छैन। त्यसलाई पर धकेल्न अनेक बहाना बनाउँदै हुनुहुन्छ।
आइतबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहालसँग एक चरण छलफल गरी एक कार्यक्रमको उद्घाटनका लागि सोल्टी होटल पुगेका थिए।
प्रवक्ता नारायकाजी श्रेष्ठले भने सोमबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक सारिएको जानकारी ट्वीटरमार्फत् गराए ।
यता, नेकपा नेता घनश्याम भुसालले नेता घनश्याम भुसालले पार्टीको स्कूल विभाग प्रमुखलाई प्रधानमन्त्री वा अध्यक्षभन्दा पनि ठूलो हो कि जसरी विवादमा ल्याइएको टिप्पणी गरेका छन् ।
दुवै अध्यक्षको कमजोरीका कारण स्कूल विभागको विवाद सडकसम्म आएको बताए । भुसालले भने, ‘उहाँहरुले पार्टी एकताको भावनालाई ख्याल राखेर कुन विभाग कता पर्छ भन्ने टुङ्ग्याएको भए यस्तो अवस्था आउने नै थिएन । अहिले स्कुल विभाग भनेको प्रधानमन्त्री वा अध्यक्ष भन्दा ठूलो विभाग हो कि भन्ने जस्तो देखिएको छ । जति चर्चा भयो त्यो आवश्यक थिएन ।’
स्कूल विभागमा आफ्नो दावी कायमै रहेको भन्दै उनले पूर्वमाओवादीको भागमा परे मात्र दावी फिर्ता लिने बताए ।
विवादका कारण स्कूल विभाग दुवै अध्यक्षले राख्ने भन्ने विकल्प सबैभन्दा कमजोर समाधान भएको बताए । उनले भने, ‘स्कुललाई सुसुप्त अवस्थामा राख्ने समाधान हो ।’