भाद्र ७,ललितपुर । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोनको उपाधि किर्गिस्तानले उचालेको छ। शनिबार लगनखेलको आर्मी कभर्डहलमा भएको फाइनलमा उज्वेकिस्तानलाई निकै नै प्रतिस्पर्धात्मक खेलमा ३–० को सोझो सेटमा नतिजा आफनो पक्षमा पार्न सफल भयो। किर्गीस्तानले पहिलो सेट २६–२४, दोस्रो सेट २७–२४ र तेस्रो सेट २५–१९ सहित खेल आफ्नो पक्षमा पार्न सफल भयो । उज्वेकिस्तानले प्रतिस्पर्धात्मक खेल खेलेपनि जित निकाल्न नसक्दा खेल सोझो सेटमानै गुमाउन उज्वेकिस्तान बाध्य भयो।
च्याम्पियनसिपमा दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए। सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गरेको थियो भने उज्वेकिस्तानले माल्दिभ्सलाई हराएको थियो। पहिलो पटक नेपालमा आयोजित प्रतियोगितामा ७ टोलीले सहभागिता रहेको थियो। जसमा तुर्कमेनिस्तानले तेस्रो स्थान हासिल गर्दा माल्दिभ्स चौथो भएको थियो।
त्यस्तै नेपालले पाँचौं स्थान हासिल गर्दा अफगानिस्तानले छैटौं र बंगलादेश सातौं स्थानमा रहे। विजेता तथा सहविजेता टोलीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, खेलकुदमन्त्री जगत विश्वकर्मा, व्यवसायी अस्मिता सुमार्गी लगायतले ट्रफि र प्रमाणपत्रसहित सम्मान गरेका थिए । पाँचौं संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल सेटलाइट टेलिकमले प्रायोजन गरेको थियो।