विप्लवको ‘पार्टीको राजनीतिक लाइन के हो ? एकीकृत जनक्रान्ति कि छापामार युद्ध ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर ८, आईतबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर ८,काठमाडौँ । नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। तर यो व्यवस्था पनि वैज्ञानिक नभएको भन्दै यस विरुद्ध एउटा कम्युनिस्ट पार्टी हिंसात्मक संघर्षमा जोड दिइरहेको छ। त्यो पार्टी हो– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी। गाँउ र सहर दुवै नछाड्ने, मध्यम वर्गलाई पनि साथ लिने र सहरी जनविद्रोहका माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिका साथ विप्लवले अहिले भूमिगत शैलीमा पार्टी गतिविधि अघि बढाएको छ।

मंसिर ८ नेकपा ‘विप्लव’को पार्टी पुनर्गठन दिवस पनि हो। ०७१ मा तत्कालीन मोहन वैद्य (किरण), रामबहादुर थापा (बादल) लगायत नेता रहेको पार्टीसँग सम्बन्धविच्छेद गर्दै विप्लव स्वयंको नेतृत्वमा यो पार्टी जन्मिएको थियो।

सुरुमा नेकपा माओवादीका नाममा पार्टी गतिविधि अगाडि बढाएको उसले ०७३ फागुनको महाधिवेशनपछि भने नेकपाको नाममा क्रियाकलाप गर्न थालेको हो। उसले वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्ने कार्यनीतिका रुपमा ‘एकीकृत जनक्रान्ति’ अघि सारेको छ।

तर एकीकृत जनक्रान्तिको राजनीतिक कार्यक्रम र फौजी कार्यदिशा कस्तो हुन्छ रु अझै विप्लवले यसबारे सविस्तार बताएका छैनन्। सरकारले गत फागुन २८ यता विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाउँदै तिनका नेता–कार्यकर्ता धरपकडको नीति लिएको छ।

सेना, प्रहरीसँग तत्काल जुध्ने पार्टीको नीति नभएको पनि बताउने तर राज्यका ‘अवयव’माथि धावा बोल्न पनि नछाड्ने नीति विप्लवको पार्टीले लिइरहेको छ। स्थानीय तहका वडा र गाउँपालिकाका कार्यालयमा आगजानी, आक्रमण, एनसेलमा आक्रमण, जनप्रतिनिधिले चढ्ने गाडीमा आक्रमण विप्लव नेतृत्वको नेकपाले पछिल्ला दिनमा गरेका केही प्रतिनिधिमूलक घटना हुन्। यसभन्दा अघि बढेर पार्टीले थप कुनै ठूला आक्रमण भने अहिलेसम्म गरेको छैन।

पुनर्गठनको छैटौं वर्षगाँठ मनाइरहँदासम्म विप्लवले पार्टीको राजनीतिक कार्यदिशाका विषयमा भने आफ्नै पार्टीका नेताहरूलाई समेत विश्वस्त बनाउन सकिरहेको देखिँदैन।

कतिपय सन्दर्भमा पार्टी नेताहरू स्वयं पनि कार्यदिशामा अलमलिइरहेका देखिन्छन्। खासगरी एकीकृत जनक्रान्तिको फौजी कार्यदिशाको बुझाइमा नेताबीच नै अन्योल छ। दीर्घकालीन छापामार युद्ध कि मध्यम वर्गलाई पनि साथ लिएर सशस्त्र जनविद्रोह भन्नेमा मतऐक्यता छैन।

‘पार्टीको राजनीतिक लाइन के हो ? एकीकृत जनक्रान्ति कि छापामार युद्ध ? नेतृत्वले अझै गहिरो गरेर पार्टी नेतालाई समेत बुझाउन सकेका छैनन्, यसमा पार्टीभित्र अझै बहस जारी छ,’ टेलिफोन सम्पर्कमा आएका विप्लव नेकपाका एक नेताले भने, ‘राजनीतिक लाइनमा प्रष्टताको खोजी पार्टीभित्रै भइरहेको छ।’

कतिपय नेताले पछिल्लो पटक कार्यदिशामै अलमल देखिएको भन्दै पार्टीसमेत छाडेका छन्। केही दिनअघि मात्र पार्टी पोलिटब्युरो सदस्य तथा स्कुल विभागको प्रमुखसमेत रहीसकेका नेता कृष्ण धमला (गम्भीर) ले पार्टी छाडेका थिए।

यसबीच नेता पदम राईलगायतले पनि पार्टी छाडिसकेका छन्। मोहन कार्की जीवन्तलगायत झन्डै एक दर्जन नेता निष्क्रिय छन्।

जनक्रान्तिको मोडेल सहरी जनविद्रोह हो कि छापामार युद्ध भन्नेमा नेतृत्वले प्रष्ट्याउन नसक्दा पार्टीभित्रैै बुझाइ अस्पष्ट रहेको पार्टी छाडेका नेताहरूको तर्क छ।

‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई एकीकृत ढंगले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो, कतिपय साथीले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ,’ विप्लव नेकपाबाट निष्क्रिय बसेका मोहन कार्की जीवन्तले भने, ‘पार्टीमा केही कुरा सच्याउन र कार्यदिशाअनुसार सहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन।’

ताजा अपडेट

खोजी गर्नुहोस