मंसिर २०, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शुक्रबारबाट पोखरामा आर्चरीका खेल सुरु हुनेछन्। यस्तै दशरथ रंगशालामा एथ्लेटिक्सका इभेन्ट जारी हुनेछन्।
जसमा महिला ५ हजार मिटरमा सन्तोषी श्रेष्ठबाट नेपालले पदकको आसा गरेको छ। यस्तै पोखरामा हुने ब्याडमिन्टनमा सबै इभेन्टका फाइनल हुनेछन् । त्रिपुरेश्वरको दशरथ रंगशालामा बास्केटबलका खेल जारी रहनेछन्। शुक्रबारबाट सातदोबाटोको कराते कबर्डहलमा बक्सिङका पहिलो चरणका इभेन्ट हुनेछन्। पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्सबीच कीर्तिपुरमा खेल हुनेछ।
फेन्सिङमा ३ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। पुरुष फुटबलमा शुक्रबार रेस्ट डे राखिएको छ। गल्फमा फाइनल चरणका खेल हुनेछ। ह्यान्डबल र कबड्डीका खेल पनि जारी रहनेछन्। सुटिङ पनि शुक्रबार जारी हुनेछ। शुक्रबारदेखि स्क्वास सुरु हुनेछ। पौडीमा ७ स्वर्णका लागि भिडन्त हुनेछ।
टेनिसमा प्रतिस्पर्धा पनि जारी रहनेछ। कुस्ती जनकपुरमा बिहीबार सुरु हुनेछ। टेवलटेनिसमा शुक्रबार अन्तिम चरणका खेल हुनेछन्।