पौष १२, काठमाण्डौँ । नेपाली कांग्रेसको पौडेल पक्षले छुट्टै भेला गरेको छ । केन्द्रीय कार्यसमिति बैठकको बहुमतबाट संस्थापनले कार्यतालिका सहित पार्टीको १४ औं महाधिवेशनको मिति तय गरेपछि त्यसबारे रणनीति बनाउन बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाएको हो । महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा भएको बैठकमा सभापति शेरबहादुर देउवाले आफंै बहुमतिय प्रक्रियाबाट निर्णय गरेपछि त्यसविरुद्ध उत्रने पौडेल पक्षले चेतावनी दिएको छ ।
पौडेल पक्षको बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेको निष्कर्ष पनि निकालेको छ । बहुमतका नाममा पार्टीको विधि विधान उल्लंघन गरेर निर्णय आएको भन्दै उक्त निर्णय नमान्ने उनीहरूको धारणा छ ।
बरिष्ठ नेता पौडेलले महासमिति बैठकपछि संशोधन गरिएको पार्टी विधानको धज्जी उडाउने काम सभापति देउवाबाट भएको आरोप पनि लगाए । महामन्त्री शशांक कोइरालाले पार्टीभित्र एकतामा जोड दिँदै बहुमतबाट गरिएको निर्णयले पार्टीलाई कमजोर बनाउने बताए । नेता प्रकाशमान सिंहले सभापति देउवा पक्षले बहुमतको दम्भ देखाएको आरोप लगाए । शुक्रबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट समूहको अनुपस्थितिबीच बसेको केन्द्रीय समिति बैठकले २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्नेगरी मिति घोषणा गरिसकेको छ । बैठकले केन्द्रीय विभागहरु थप्ने निर्णय गरेको छ ।