पुस १२,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान चरितार्थ हुँदै गएको बताएका छन । प्रेस संगठनले शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजना गरेको ‘प्रधानमन्त्रीसँग पत्रकार अन्तक्रिया’ र ‘राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रम’मा सरकारले ल्याएका योजनाप्रति कटाक्ष गर्ने गरिएको स्मरण गर्दै उनले दुईतिहाईको सरकारको कारणले नेपालमा सम्भावनाको ढोको खुलेको बताए ।
प्रधानमन्त्री ओलीले गलत नीति, गलत व्यवहार वा आन्दोलनलाई कमजोर पारेको भए पार्टीका नेताले आलोचना गर्नुपथ्र्यो तर विरोधीहरुले सिधा आँखाले हेर्न नसक्ने गरी योजनाहरु कार्यान्वयन भइरहेकाले अहिले विरोधका लागि विरोध मात्र भइरहेको स्पष्ट पारे ।
सरकार र पार्टीबारे विपक्षी दल र विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाइरहेको बताउँदै उनले प्रतिगमनकारी शक्तिले विभिन्न मिडियामा लगानी गरेर अनेक ढंगबाट जनतालाई भ्रम फैलाउने काम भइरहेकोमा दुःख व्यक्त गरे ।
चुनावमा नजितेपछि काँग्रेस नेतृत्वको तत्कालीन कामचलाउ सरकारले अनैतिक रुपमा विभिन्न निर्णय गरेको उल्लेख गर्दै उनले सरकारले सबै प्रक्रियालाई व्यवस्थित पार्न खोज्दा उल्टै विरोध सामना गर्नुपरेको र दोष पनि वर्तमान सरकारमाथि नै थोपर्ने काम भएको बताउँदै सत्य तथ्य समाचार सम्प्रेषण गर्न उनले निर्देशन दिए ।
‘विगतका सरकारले विभिन्न निर्णय गरेको छ, तर दोष यही सरकारलाई लगाएको छ’, बताउँदै उनले भने, ‘मैले नेपालमा पानीजहाज चल्छ भनेको थिएँ, समुद्रमा नेपालको पानीजहाज चल्छ भने, त्यो बेला सबैले उडायो मलाई । पानीमा जहाज चल्छ भने विपक्षीलाई थाहा छैन सायद । कागजको डुङ्गा बनाएर बाल्टीमा चलाएर मजाक उडाइयो । तर अहिले युवाहरू कोशीमा डुङ्गा चलिरहेको छ, गण्डकीमा पानीजहाजको परीक्षण भइरहेको छ ।’
केही नेताले आफैं सवार डुङ्गामा प्वाल पार्न खोजेको भन्दै उनले भने, जसले प्वाल पार्न खोजे पनि यो डुङ्गा प्वाल पान दिँदैनौं । जसले डुबाउन खोजे पनि डुङ्गा डुब्न दिइँदैन ।’
नेकपाका अध्यक्ष पनि रहनुभएका प्रधानमन्त्री ओलीले नेपालमा कोही पनि भोकै नमर्ने र कोही पनि घरवारविहीन नहुने उल्लेख गर्दै सरकारले जनहितका थुपै्र कामहरु गरिरहेको बताए ।
विगतमा स्थिर सरकार नहुँदा देश विकास हुन नसकेको बताउँदै उनले नेकपाले बहुमत ल्याएर पाँच वर्षसम्म सरकार चलाउने भएकाले विराधीहरुले विभिन्न शैलीमा जनतालाई भ्रम छर्ने काम गरे पनि सरकारको ध्यान आर्थिक समृद्धिमा केन्द्रित भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले असाधारण काम गरेको स्पष्ट पार्दै त्यसलाई विरोधी शक्तिहरुले स्विकार गर्न नचाहेको बताए ।
कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धता अनुसार नै नेकपा र सरकारले काम गरिरहेको बताए ।
उनले केपी शर्मा नेतृत्वको सरकारले इमान्दारिताका साथ काम गरिरहेको बताउदै पाँचवर्षसम्म निरन्तर चलिरहने बताए ।
‘पाटी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौ । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ त्यो हामीले दिएका छौँ’, सरकार र पार्टीको लागि जस्तोसुकै त्याग, तपस्या र वलिदान दिन आपूm तयार रहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले भने ‘पाँच वर्षको लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ ।’
अध्यक्ष प्रचण्डले मात्रात्मकसहित गुणात्मक तरिकाले नेपालमा राज्यब्यवस्था परिवर्तन भएको बताउँदै यस परिवर्तनलाई पुनः उल्ट्याउन प्रयास भइरहे पनि कुनै हालतमा जनताले सफल पार्न दिँदैन, भने ।
‘राजतन्त्रको ठाउँमा गणतन्त्र, एकात्मकताका स्थानमा संघीयता, धर्मसापेक्षताको स्थानमा धर्मनिरपेक्षता र बहिष्करणको स्थानमा समावेशीता ल्याएको यस्तो राजनीतिक परिवर्तन कसैले पनि उल्टाउन सक्दैन ।’ उनले भने, ‘विचारमा एकतारुपता भए मात्र एकीकृत पार्टीको उद्देश्य प्राप्त हुनसक्छ ।’
कार्यक्रममा पार्टी स्थायी कमिटीका सदस्य नारायणकाजी श्रेष्ठ, पार्टी महासचिव विष्णु पौडेल, प्रेस संगठनसम्बन्धित नेतागणलगायतले पत्रकार हकहितको लागि लाग्न पत्रकारहरुलाई निर्देशन दिएका थिए । प्रेस संगठनका संयोजक महेश्वर दाहालको अध्यक्षतामा भेला आयोजना भएको थियो ।