सफल भारतीय राजदूत पुरी : नेपालमा कसैलाई बिझाएनन्, कहिँ चुकेनन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष १४, सोमबार (५ साल अघि)
  • १४७ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी कार्यकाल सकाएर मंगलबार दिल्ली फर्किँदै छन् । नेपालमा स्थानीय तहको निर्वाचन भइरहँदा पुरी राजदूतका रूपमा आएका थिए । निर्वाचन प्रक्रियालाई सघाउने भारतीय नीतिको कार्यान्वयनबाट उनले नेपालमा काम सुरु गरेका थिए । तीन तहको निर्वाचनपछि सबैभन्दा ठूलो दल भएको तत्कालीन एमालेका अध्यक्ष केपी ओली र भारतीय नेतृत्वबीच संवाद सहजीकरणमा उनले सुरुमै भूमिका निर्वाह गरे । तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनपछि कम्युनिस्ट पार्टीको बहुमत आउने र सरकार बन्ने निश्चित थियो । त्यस अवस्थामा एमाले नेतृत्व र भारतीय प्रधानमन्त्रीबीच सम्बन्ध सहजीकरण पुरीको अर्को महत्वपूर्ण मिसन थियो । यसमा उनले समन्वयकारी भूमिका निर्वाह गरे । उनले नेपालमा दुई वर्ष नौ महिना तीन दिन बिताएका छन् । नेपालबाट स्वदेश फर्किए लगत्तै उनले ३७ वर्षे लामो कूटनीतिक सेवाबाट अवकाश पाउन लागेका हुन् ।

उनले तीन तहको निर्वाचन लगत्तै ७ माघमा भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई टेलिफोन मार्फत नयाँ सरकारको नेतृत्वका लागि बधाई दिए र १८ माघमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष प्रतिनिधिका रूपमा नेपाल पठाएका थिए। त्यो विशेष वार्ताका लागि भारतका तर्फबाट पुरी र एमालेबाट डा राजन भट्टराईले समन्वय गरेका थिए । स्वराजको भ्रमणपछि भारत सरकार र नेपालको नयाँ सरकारबीच समझदारी विकास भयो । ०७३ साउनमा सरकारबाट हटेपछि ओली र भारतीय नेतृत्वबीचको तिक्तता सामान्यीकरण भयो । ३ फागुन ०७४ मा प्रधानमन्त्री भएपछि केपी ओलीले भारतको राजकीय भ्रमण गरे । त्यसपछि मोदीले नेपालको राजकीय भ्रमण गरे । त्यसयता ओली र मोदीले क्रमशः दुई–दुईपटक भ्रमण गरेका छन् ।रणजित रायपछि पुरी १२ चैत ०७३ देखि नेपालका लागि २४औँ राजदूत नियुक्त भएका थिए ।

पुरीपछि नेपालका लागि भारतीय राजदूत अझै तय भएको छैन । नवनियुक्त भारतीय विदेशसचिव हर्षवद्र्धन श्रींगला अमेरिकाबाट दिल्ली फर्केपछि नेपालमा पठाउने राजदूत तय हुनेछ । एउटै समयमा भारतीय विदेशसचिव नियुक्त भएका विजयकेशव गोखले पनि जनवरी २० मा सेवानिवृत्त हुँदै छन् ।

पुरीकै कार्यकालमा अरुण तेस्रो जलविद्युत् परियोजना र पेट्रोलियम पाइपलाइन निर्माण

राजदूत पुरी सिख समुदायबाट नेपालमा राजदूत भएका दोस्रा व्यक्ति हुन् । नेपालका लागि प्रथम भारतीय राजदूत सुरजितसिंह मजिठिया नेपाल पठाइएका पहिलो सिख राजदूत थिए । पुरी नेपाल आएका दोस्रा सिख राजदूत हुन् । नेपालमा रहेका सिख समुदायलाई आफ्नो कार्यकालमा उनले समेटेका छन् । उनकै कार्यकालमा गुरु नानकको ५५०औँ जन्मजयन्ती मनाइएको छ । सिख समुदायले नेपालको यातायात तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएका छन् ।

पुरीका पालामा महत्वपूर्ण विकास आयोजना अघि बढे

नेपालमा सिख सम्प्रदायको इतिहास पुरीकै कार्यकालमा आधिकारिक रूपमा लेखिएको छ । पुरीका पालामा महत्वपूर्ण विकास आयोजना अघि बढेका छन् । अरुण तेस्रो जलविद्युत् परियोजना सुरु भयो । पेट्रोलियम पाइपलाइन यिनकै पालामा सुरु भएर सम्पन्न भयो । हुलाकी राजमार्गको काम अघि बढिरहेको छ । रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सकिएको छ ।

भारतीय सहयोगमा रेलमार्ग निर्माण गर्ने सहमति पुरीकै समयमा भयो । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठकमा पुरीले रोकिएका परियोजनाको कारण तय गरेर दुवै सरकारले समस्या समाधान गर्नुपर्ने जोड दिँदै आए ।

पुरीबारे पूर्वराजदूत के भन्छन् ?

भारतले संविधान जारी भएपछि उत्पन्न असहज अवस्थापछि नेपाल नीतिमा कोर्स करेक्सन गरेका कारण राजदूत पुरीलाई काम गर्न सहज भएको पूर्वराजदूत डा। दिनेश भट्टराई बताउँछन् । ‘नाकाबन्दीपछि भारत सरकारले नेपालमा कुनै दल वा कुनै समुदाय विशेषसँग होइन, सरकारसँग डिल गर्ने नीति लियो । भारतको यो नीतिका कारण पुरीले भारतप्रति आलोचक वाम सरकारसँग सहजतापूर्वक काम गरे,’ भट्टराईले भने ।

भारतको बदलिँदो नीतिकै कारण राजदूत पुरी नेपालमा सूक्ष्म व्यवस्थापनको आरोपबाट मुक्त भएको पनि उनको विश्लेषण छ ।भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायको दृष्टिकोणमा राजदूत पुरीले नेपाल भारत सम्बन्धको एउटा संकटकालीन समयलाई सहज रूपमा व्यवस्थापन गरेका छन् । पुरीसँग सहकार्य गरेका उपाध्यायले भने, ‘नेपाललाई मोदी आफैँले हेर्ने संयन्त्र बनाएका छन् । त्यो संयन्त्रमा पुरीले राम्रो भूमिका निर्वाह गरे । नेपालमा कसैलाई बिझाएनन्, उनी कहीँ चुकेनन् ।’

सहकार्य : नयाँ पत्रीका

ताजा अपडेट

खोजी गर्नुहोस