पौष १४, काठमाण्डौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपालको औपचारिक भ्रमणमा आउने खुलासा भएको छ । मन्त्री परिषद् श्रोतका अनुसार राष्ट्रपति पुटिनलाई नेपालमा स्वागत गर्ने तयारी भइरहेको छ । ‘राष्ट्रपति पुटिन नेपाल भ्रमणमा आउने भएपछि अहिले उपत्यका सडकको खाल्डाखुल्डी पुर्ने, कालोपत्रे गर्ने र शहरलाई सिंगार्ने काम शुरु गरिएको मन्त्री परिषद् श्रोतले भनेको छ । आइतबार मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले कलंकी नागढुंगा सडकको अनुगमन गरेका थिए ।
सडकका खाल्डाखुल्डीका कारण सवारी आवतजावतमा असहज हुनुका साथै जाम हुने समस्या विद्यमान रहेको छ । नेपालमा छिट्टै विशिष्ठ विदेशी राष्ट्र र सरकार प्रमुखहरुको भ्रमण हुन लागेकोले मन्त्री नेम्वाङले काठमाडौँ सडक डिभिजन कार्यालयका इञ्जिनियरहरु र सडक बिस्तार आयोजनका प्रमुखहरुलाई खाल्डाखुल्डी पुर्न र कालोपत्रे गर्न निर्देशन दिएको बुझिएको छ ।
मन्त्री नेम्वाङले दैनिकजसो सडक कालोपत्रे गरिरहेको स्थानको अनुगमन गर्ने गरेका छन् । नेपाल सरकार मित्र राष्ट्रहरुसँगको कुटनीतिक सम्बन्ध सुधार गर्न गम्भीर ढंगले लागिरहेको र सोही शिलशिलामा रुसी राष्ट्रपति पुटिनलाई स्वागत गर्न लागिएको हो ।