चैत्र २, काठमाडौँ । भूकम्प गएको पाँच वर्ष पुग्नै लाग्दा सडक र खानेपानी आयोजना पुनर्निर्माणमा साढे ११ अर्ब ४८ करोड ६५ लाख २१ हजार रुपैयाँ खर्च भएको छ । भूकम्पले सडक र खानेपानी आयोजनामा ठूलो क्षति भएको थियो । भूकम्पपछि १ हजार ३ सय ७७ खानेपानी आयोजना र ४२ वटा सडकमा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।
अहिले सबै आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले बताएको छ । क्षति पुगेकामध्ये ८ सय ५३ आयोजना सम्पन्न भइसकेको खानेपानी तथा ढल व्यवस्था विभागको भनाइ छ । २ सय आयोजना गैरसरकारी संस्थामार्फत पुनर्निर्माण गरिएको छ । खानेपानी आयोजनातर्फ अहिलेसम्म २ अर्ब ३१ करोड ९७ लाख २२ हजार विनियोजन भएकामा १ अर्ब ४८ करोड ६५ लाख २१ हजार रुपैयाँ खर्च भएको छ ।
‘सुरुमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषमार्फत काम भएको थियो,’ खानेपानी तथा ढल व्यवस्था विभागका सूचना अधिकारी लक्ष्मीप्रसाद उपाध्यायले भने, ‘आव ०७५र७६ बाट अर्थ मन्त्रालयमार्फत काम भइरहेको छ ।’ आयोजना सकिएपछि ३ लाख ५३ हजार ३५ जना लाभान्वित हुनेछन् । चालु आवमा ९८ वटा आयोजना सम्पन्न हुने र भूकम्पपछि क्षति भएर छुटेका आयोजना पनि सम्पन्न गर्नेतयारी छ ।
‘अन्य आयोजनाको काम पनि धमाधम भइरहेको छ,’ उपाध्यायले भने, ‘चालु आवभित्र हामीले थालेका सबै आयोजना सक्छौं ।’ भूकम्पपछि भत्किएका खानेपानी आयोजना र सडकको पुनर्निर्माणमा प्रगति राम्रो रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । ‘समग्रमा प्रगति राम्रो देखिएको छ,’ उनले भने, ‘खानेपानी आयोजनाबाट पहिला थोरै लाभान्वित थिए । अब नयाँ आयोजनाले सिंगो गाउँ नै लाभान्वित बन्नेछन् ।’
रणनीतिक सडक पुनर्निर्माणको काम सडक विभागबाट भइरहेको छ । यसअन्तर्गत तीन वटा सडक छन् । दोलखा–सिँगटी र धादिङ–गोरखा सडक सम्पन्न भइसकेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । ‘एडीबीको ऋण सहयोगमा काम भएको हो,’ उनले भने, ‘पाँचखाल–मेलम्ची सडकमा कालोपत्रेको काम मात्र बाँकी छ ।’
सडक निर्माणमा एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोग छ । देशभर भूकम्पले क्षति पुर्याएका ४२ वटा सडक पुनर्निर्माणको काम भइरहेको छ । तिनको निर्माण ०७२ साउनबाट सुरु भएको हो । २० वटा सडक निर्माण सकिइसकेको र २२ वटा निर्माणको क्रममा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० आयोजना निर्देशक गणेशराज वस्तीले जानकारी दिए ।
‘निर्माणाधीन सडकको भौतिक प्रगति ७० प्रतिशत छ,’ उनले भने, ‘असार मसान्तभित्र सबै सडक सक्ने हाम्रो लक्ष्य छ ।’ कुल ६ सय ४८ किलोमिटर सडक भूकम्पले क्षति भएको थियो । ‘अहिलेसम्म ४ सय किमि निर्माण भइसकेको छ,’ उनले भने, ‘२ सय ४८ किमि सडक निर्माणको क्रममा छ ।’ निर्माणका क्रममा रहेका सडकमा स्याङ्जाको आलम–रिडी, कास्कीको सिसु–देउराली र काठमाडौं साँखु–तारेभीर छन् ।
‘सबै सडक निर्माण पूरा हुँदा १५ अर्ब रुपैयाँ खर्च लाग्नेछ,’ उनले भने, ‘अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च भइसकेको छ ।’ प्राधिकरणका अनुसार स्तरोन्नति गर्नुपर्ने ३० सडक र ३९ वटा पुल तथा पर्यटन पदमार्गको पुनर्निर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ । स्थानीय सडकमा ५ अर्ब र रणनीतिक सडकमा एडीबीको ३ अर्ब ऋण सहयोग रहेको सडक विभागकोभनाइ छ । कान्तिपुर अनलाइनबाट