वैशाख ८, काठमाण्डौ । बिमा समितिले आइतबारदेखि औपचारिक रूपमा कोरोना भाइरस कोभिड–१९ रोग बिमालेख जारी गरेको छ । समितिले एक कार्यक्रमको आयोजना गरी बिमालेख सञ्चालनमा आएको जानकारी दिएको हो।कोरोना भाइरसबाट संक्रमित नागरिकलाई आर्थिक राहत प्रदान गर्न समितिले कोरोना भाइरस रोग बिमालेख जारी गरेको बताएको छ । समितिका अनुसार यस बिमालेखको अवधि १ वर्षको हुनेछ र एकपटक दाबी भएपछि बिमालेख स्वतः समाप्त हुनेछ । पारिवारिक वा सामूहिक बिमालेखको सम्बन्धमा दाबी परेको व्यक्तिको हकमा मात्र बिमालेख समाप्त हुनेछ । अन्य व्यक्तिको बिमालेख बिमा अवधिसम्म चालू रहनेछ ।
३ महिनादेखि ९९ वर्षसम्मका लागि बिमा खरिद गर्न सकिने
बिमा समितिले जारी गरेको कोरोना भाइरस रोग बिमालेख ३ महिनाको बच्चादेखि ९९ वर्षको ज्येष्ठ नागरिकसम्मले खरिद गर्न सकिनेछ । तर, बिमित व्यक्ति कोरोना भाइरसबाट संक्रमित भई त्यसका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय वा सार्वजनिक निकायले निर्धारण गरेअनुसारका पिसिआर परीक्षणबाट कोरोना भाइरस संक्रमित भएको पुष्टि हुनुपर्नेछ ।
१ लाखसम्मको बिमा खरिद गर्न सकिने
बिमितहरूले ५० हजार र १ लाख रुपैयाँसम्मको बिमालेख खरिद गर्न सक्नेछन् । १ लाख रुपैयाँसम्मको बिमालेखअन्तर्गत कम्पनीहरूले बिमा गर्दा प्रतिव्यक्ति १ हजार रुपैयाँ र परिवारको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ । त्यस्तै, ५० हजार रुपैयाँ बिमांक रकमबराबरको बिमा गर्दा प्रतिव्यक्ति ५ सय र परिवारको गर्दा ३ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ ।
तर, बिमा भएको १५ दिनपछि मात्रै दाबी गर्न सकिनेछ । लघुबिमामार्फत कम्पनीहरूले यो बिमालेख जारी गर्न पाउनेछन् । हाल कृषि बिमा र घुम्ती बिमाका लागि तोकिएका जिल्लाहरूमा कार्यरत बिमा कम्पनीहरूले अनिवार्य रूपमा कार्यान्वयन गर्न समितिले निर्देशन दिएको छ ।
संक्रमित व्यक्ति अन्य कारणले मृत्यु भएमा दाबी लाग्नेछैन
कोरोना भाइरस संक्रमित बिमितको अन्य रोगबाट मृत्यु भएमा कम्पनी दाबी भुक्तानीका लागि बाध्य हुनेछैन । त्यस्तै, बिमालेख सुरु हुनुभन्दा पहिलेदेखि नै कोरोना भाइरस संक्रमण रहेको र बिमालेख सुरु भएको १५ दिनभित्र संक्रमण भएको अवस्थामा समेत दाबी लाग्नेछैन ।
त्यस्तै, यस बिमालेखले नेपालभित्र हुने जोखिमको मात्रै रक्षावरण गर्नेछ । नेपालबाहिर भएमा बिमालेख स्वतः निष्क्रिय हुनेछ । विदेशबाट नेपाल पुनः फर्केको अवस्थामा नेपाल प्रवेश गरेको १५ दिनपछि बिमा अवधि समाप्त हुने समयसम्मका लागि बिमालेख स्वतः पुनर्जागरण हुनेछ ।