वैशाख १४, काठमाण्डौ । ‘द इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब’ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । क्लबले आइतबार मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ५७ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सबै सहयोगी मनहरुको साथ र सहयोगका कारण नेपालले कोरोना भाइरस महामारी विरुद्धको लडाईमा सफलता पाउँदै गएको बताए ।
उनले सरकार, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था लगायत सबै पक्षको साझा अभियानका कारण नेपाल कोभिड–१९ विरुद्धको लडाईमा सफल हुँदै गएको बताए ।अप्ठेरो परेको बेला राज्यसँग सँगै छौं भन्ने अभियानको कारणले गर्दा नै विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई उच्च जोखिम भएको मुलुकबाट हटाएको बताए । उनले सबैको सहयोग मिलेको कारण अहिले उपचार र स्वास्थ्य सामग्रीहरुको विषयमा पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए ।
लायन्स क्लबले मन्त्रालयलाई २ हजार सेट पीपीइ, ५ हजार थान एन९५ मास्क, सर्जिकल ग्लोभ्स ५ हजार थान र एक्जामिनेसन ग्लोभ्स २० हजार थान उपलब्ध गराएको छ । यसबाहेक पनि क्लबले विभिन्न स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्दै आएको, विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई खाद्यान्न एवं अत्यावस्यक सामग्रीहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।