वैशाख १७, काठमाण्डौ । असुरक्षित स्थानमा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये चार हजार २०४ लाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । आठ हजार ७४४ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्था गरी जग्गा उपलब्ध गराई निजी आवास पुनःनिर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । भौगोलिकरूपमा पहिरो, बाढी लगायत जोखिममा रहेका भूकम्पपीडितलाई प्राधिकरणले पुनर्निर्माणका लागि जग्गा व्यवस्था गरेको हो । यसैगरी ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ । हालसम्म नौ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २७ वटा निर्माणाधीन छन् । विभिन्न जिल्लामा ७६२ किमी सडक पुनर्निर्माण गर्नुपर्नेमा ४४३ किमीको काम सम्पन्न भएको छ । ३१९ किमी सडकको पुनर्निर्माण अन्तिम चरणमा छ ।
पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब र गैरसरकारी संस्थामार्फत ७२ अर्ब गरी ३ खर्ब ८१ अर्ब खर्च भएको छ। कोभिड(१९ अर्थात् कोरोना भाइरसको महामारीबाट बच्न एक महिनादेखि लकडाउन जारी रहेकाले पुनर्निर्माणका काममा असर परेको प्राधिकरणले जनाएको छ । कोरोनाबाट स्थिति सहज हुनासाथ पूर्ववत् रुपमा नै पुनर्निर्माणका काम हुने विश्वास पनि प्राधिकरणले लिएको छ । कोरोनाका कारण जारी बन्दाबन्दीले पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी काम सम्पन्न गर्न चुनौती भने थपिदिएको सहप्रवक्ता घिमिरेले बताए । रासस