जेठ ३१, काठमाण्डौ । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७,७८ का लागि ५० अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । आगामी असार १ गते प्रस्तुत हुने बजेटमा लकडाउनका कारण थलिएको अर्थतन्त्र उकास्ने, कृषि उत्पादन बढाउने तथा उद्यामशीलता वृद्धि गर्नेखालका योजना समेटेर बजेट ल्याउन लागिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए ।
बजेटमा बैंकिङ कारोवारलाई प्रवद्र्धन गर्ने, युवालाई उत्पादनमा जोड्न रोजगारमूलक तथा आयमूलक कार्यक्रम र ‘कोभिड विशेष’ कृषि कार्यक्रमलाई जोड दिइने जनाइएको छ । विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषिसम्बन्धी अनुभव, ज्ञान र सीप बटुलेका कृषि र पशुपक्षी विषयमा अध्ययन पूरा गरेर बेरोजगार रहेका युवालाई कृषिमा आवद्ध गरी उत्पादनमा जोड्न विशेष रोजगार तथा आयमूलक कोभिड विशेष कृषि कार्यक्रमको थालनी गर्न लागेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमार्फत करिब तीन लाख युवालाई रोगजारी दिने गरी बजेट ल्याउन लागेको छ । मन्त्रालयले अल्पकालीनरूपमा धेरै युवालाई रोजगारी दिन तथा स्वरोजगार बनाउन लागेको जनाइएको छ । लघुउद्यमअन्तर्गत कुटिर उद्योग चलाउनेलाई प्राथमिकता दिएर प्रदेशका हरेक स्थानीय तहमा रु ३० लाखका दरले बजेट दिएर युवालाई रोजगारी दिने कार्यक्रम रहेको छ । त्यसबाहेक ‘मेरो उद्यम, अति उत्तम’ कार्यक्रमअन्तर्गत सात हजार १४० जनालाई रोजगारी दिन लागिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी व्यावसायिक जडीबुटी फार्म सञ्चालनबाट छ हजार ४०० रोपनीमा विभिन्न किसिमका खेती गर्न दिने र २५ हजार २०० जनालाई रोजगारी दिइने तयारीसाथ बजेट निर्माण गरिएको मन्त्रालयका कर्मचारी बताउँछन् । विदेशबाट फर्किएका दुई हजार ९४० युवालाई छ महिना रोजगारी दिनेगरी कार्यक्रम तयार पारिँदै गरेको मन्त्रालयले जनाएको छ । वनजन्य फलफूल र जडीबुटी खेती गर्नका लागि १९ लाख ५० हजार बिरुवा रोप्ने तयारी गरिएको छ ।