पुस ३, मोरङ । कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाले देश दलदलमा फस्ने खतरा भएको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरुसँगको कुराकानीमा उनले अहिलेको सरकार संविधानलाई मिच्दै अघि बढिरहेको र त्यसमा राष्ट्रपति सहयोगीको भूमिका निर्वाह गर्नु मुलुकका लागि दुरभाग्य भएको बताएका हुन् ।
अहिलेको अप्ठ्यारो परिस्थितिलाई चिर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद अधिवेशन बोलाउन दबाब सिर्जना गर्नुपर्ने उनले बताए । दुई तीहाइको सरकारले जनभावना अनुसार काम गर्न नसकेको परिणाम राजावादी चलमलाउन थालेको उनको आरोप छ । कोइरालाले सरकार र राजनीतिक दलहरुले ठिक ढंगले काम गर्न नसके मात्रै मुलुकमा राजा फर्किन सक्ने बताए । उनले कांग्रेसको महाधिवेशन फाल्गुनमा सम्भव नभएकाले जेठसम्ममा गर्नुको विकल्प नभएको बताए ।