कात्तिक २०, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढवर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । उनले भने, “म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं । हिजोभन्दा आज धेरै कामहरु भएका छन् । यथार्थ धरातलमा रहेर समीक्षा गर्नुपर्छ ।”
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मेयर शाक्यले सडकको पुनर्निर्माण भैसकेको पनि जनाए । उनले भने,“यो आर्थिक वर्षलाई हामीले पूर्वाधार वर्ष घोषणा गरेर अघि बढेका छौं । महानगरले जिम्मा पाएको सहायक सडकहरु बनाउने काम लगभग पूरा भएको छ । सडक बनाउने कामको लागि अब ५ वर्ष पर्खिनुपर्दैन ।”
उनले आफू आएपछि ६० प्रतिशत काम सम्पन्न भैसकेको दाबी गरे । उनले पुनर्निर्माण सम्बन्धी कामहरुमा सम्पदा पुनर्निर्माणका २–४ वटा कामहरु बाँकी रहेको सुनाए । उनले भने, “धरहराको काम सुरु भैसकेको छ । दरबार हाईस्कुलको काम सुरु भैसक्यो । रानीपोखरी र काष्ठमण्डप मन्दिरको पनि काम सुरु हुन्छ । काठमाडौं महानगरको भवन निर्माणको पनि काम छिट्टै सुरु हुन्छ। विवादको कारण काम सुरु हुन नसकेको हो ।”
त्यस्तै उनले मोनो रेल चलाउनेबारे सम्भाव्यता अध्ययन पूरा भैसकेको र अहिले प्राविधिक अध्ययनको काम जारी रहेको बताए । उनले भने, “नेपालमा मोनो रेल विज्ञ कोही छैनन् । हामीले बुट मोडलमा बनाउने तयारी गरेका छौं ।”