चैत १०, काठमाडौं । जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे (पिच) गर्न माग गर्दै थलीका बासिन्दाले सडक अवरुद्ध पारेका छन् । काम सुरु गरेको सात वर्षसम्म पनि सडक पिच नभएको भन्दै स्थानीयवासीले आज बिहानैदेखि सडक अबरुद्ध पारेका हुन् ।
स्थानीयले सडकमा बाँसका भाटा तेर्स्याएर सडक अवरुद्ध पारेका छन् । सडक बन्द भएसँगै सवारी आवागमन प्रभावित भएको छ । ठेकदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पूर्णरुपले नसकिएसम्म सवारी साधन चल्ने नदिने स्थानीयले बताएका छन् ।
आन्दोलनमा उत्रिएका स्थानीयले अबरोध खुलाउन पुगेका बागमती प्रदेश सभा सदस्य तथा एमाले नेता रामेश्वर फुयाँललाई केही समय घेराबन्दी समेत गरे । स्थानीयले सांसद फुयाललाई घेरा हालेर आजसम्म पनि बाटो किन पिच नगरेको भन्दै प्रश्न गरे ।
फुयाँलले ठेकेदारलाई दोष देखाउँदै पन्छिन खोजेका थिए । उनले आजका लागि बाटो खोल्न र भोलिदेखि टेकेदारलाई बोलाएरकाम सुरु हुने आश्वास दिए पनि स्थानीयले नाराबाजी गरिरहे । उनीहरुले कुर्सिको लागि राजनीति गरेको, परिवारको लागि लडेको भन्दै आलोचना गरे ।