पास भयो क्लिन फिड, पुरानालाई एक वर्ष, नयाँलाई तुरुन्तै लागु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण १०, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाडौँ । संसदको विकास तथा प्रविधि समितिले ‘क्लिन फिड’ एक वर्षभित्र लागू गर्ने गरी सो सम्बन्धी दफा पारित गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ६ लाई सर्वसहमतिले पारित गरेको हो । क्लिन फिड भनेको विदेशी विज्ञापनलाई स्वदेशी करण गरेर प्रशारण गर्नु हो ।

समितिकी सभापति कल्याणी खड्काले पुराना सेवा प्रदायकहरुले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र र नयाँ सेवा प्रदायकहरुले भने ऐन लागु भएकै दिनदेखि क्लिन फिड कार्यान्वयन गर्नुपर्ने व्यवस्था अनुमोदन गरेको जानकारी दिइन् ।

सरकारले राष्ट्रियसभामा दर्ता गरेको विधेयकमा राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि लागू हुने प्रस्ताव गरे पनि विकास समितिले त्यसलाई परिमार्जन गर्दै पुराना सेवा प्रदायकले एक वर्ष र नयाँले तत्काललै कार्यान्वयन गर्नुपर्ने प्रावधान अनुमोदन गरेको हो ।

राष्ट्रियसभाले क्लिन फिड सम्बन्धी दफालाई जस्ताको त्यस्तै पारित गरेको थियो । पुराना सेवा प्रदायकले क्लिन फिडका लागी पूर्वाधार बनाउनुपर्ने देखिएकाले एक वर्ष समय राखिएको सभापति खड्काले बताइन् ।

विधेयकलाई समितिले अनुमोदन गरेर प्रतिनिधिसभाबाट समेत स्वीकृत भएर राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागू हुनेछ ।

क्लिन फिडसम्बन्धि व्यवस्थालाई लागू नगर्न केवल टेलिभिजन सेवा प्रदायकहरुले विरोध गरे पनि सञ्चार क्षेत्रसँग सम्बन्धित अरु पक्षले लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

समितिले आइतबार विज्ञहरुसँग गरेको छलफलमा नेपाल क्लिन फिड लागू गर्न सुझाव दिएका दिए । यो व्यवस्था लागू हुँदा नेपालको विज्ञापन बजार विस्तार हुने र रोजगारीको अवसर सिर्जना हुनेछ ।

क्लिन फिड लागू नगर्ने केवल टेलिभिजन सेवा प्रदायक, टेलिभिजन वा व्यक्तिलाई पाँच लाखसम्म जरिवान हुने व्यवस्था विधेयकले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस