माघ ७, काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि सात लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भए पनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको हो । यो निर्णयसँगै वैदेशिक रोजगारीबाट श्रम स्वकत्ति अवधिमा नै नेपाल आइ विभिन्न कारणले मृत्यु भएका ३१५ नेपालीका नजिकका हकवालाले आर्थिक सहायता स्वरुप जनही सात लाख रुपैयाँ पाउने भएका छन् । ०७४ अघि मृत्यु भएका श्रमिकको हकमा भने ३ लाख रुपैयाँ दिइने छ ।