चैत्र १७, काठमाण्डौ । सुन आयात घटाउने सरकारी निर्णयको सुनचाँँदी व्यवसायीले स्वागत गरेका छन् । मुलुक गम्भीर आर्थिक संकटको अवस्था पुगेको र योबेला राष्ट्रिय ढुकुटीमा रहेको डलर सञ्चित गर्नु अनिवार्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सरकारको निर्णयले तत्काल बजारमा सुनको अभाव पनि नहुने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । सबै अवस्था सामान्य भएपछि हालको निर्णयमा पुर्न्विचार गर्न पनि उनले सरकारलाई सुझाए । महामारीको त्रास बढेसँगै सुन आयात गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मात्र अनुमति दिएको छ ।
डलरको आकासिएको मूल्यले गर्दा सुनको भाउ प्रतितोला ८५ हजार हाराहारीमा पुगेको सुन चाँदी व्यवसायीले दाबी गरेका छन् । लकडाउनका कारण देशैभरको व्यवसाय बन्द गरेर नेपालमा सुनको भाउ नतोके पनि अन्तराष्ट्रिय बजार मूल्यले त्यही बताउने महासचिव बज्राचार्यले बताए ।