पुस ३,काठमाडौँ । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब निर्धक्कसँग आर्थिक गतिविधि गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको आज मङ्गलवार हेटौँडामा उद्घाटन गर्दै उनले अहिले आर्थिक क्षेत्र सुध्रिएको दाबी गर्दै ढुक्क भएर आर्थिक गतिविधि गर्न आग्रह गरेका हुन् ।
अहिलेको अवस्थामा निराश हुनुपर्ने कुनै पनि कारण नभएको भन्दै अर्थमन्त्रीले नेपालमै लगानी गरेर काम गर्नका लागि आग्रह गर्नुभयो । अब देशमै कुनै पनि काम गर्नका लागि सहज भइसकेको उनको भनाइ छ । उनले भने, ‘अर्थतन्त्रमा सुधार आएकाले जग्गा कारोबारमा पनि सुधार आएको छ । शेयर बजार पनि बढेको छ । पर्यटन क्षेत्रमा पनि निकै सुधार आएको छ । अब लगानी गरेर काम गर्न डराउनुपर्ने अवस्था छैन ।’
देशमा धेरै खालका समस्या भए पनि सरकारमा बसेर आफूहरूले राम्रो काम गरेको अर्थमन्त्री महतको दाबी छ ।
कांग्रेस मकवानपुरको सम्मेलनमा जिल्लाको दुई सङ्घीय निर्वाचन क्षेत्र, चार वटा प्रदेश, १० वटा पालिका, एक सय दुई वटा वडाबाट गरी झन्डै दुई हजार जना प्रतिनिधि उपस्थिति रहेका छन् । सम्मेलनमा जिल्लाको सङ्गठानात्मक अवस्था, समस्या, वार्षिक प्रगति, राजनाीतिक सिद्धान्त र विचारका विषयमा केन्द्रित रहेर छलफल तथा बहस हुने छ । सम्मेलनले जिल्लामा पार्टी सङ्गठन विस्तारका लागि आगामी कार्ययोजना, रणनीति र एजेन्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने छ ।