अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षहरूबिच भर्चुअल बैठक, के के भयो छलफल ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र ९, शुक्रबार (१ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

चैत्र ९,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबिच नेपालका ठुला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ । अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेन र बैठकमा एसियाली विकास बैंक (एडीबी) का नेपाल निर्देशक आर्नो कोश्वा तथा अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी०का प्रतिनिधिसमेतको सहभागितामा भर्चुअल संवाद गरेका हुन् ।

छलफलमा आगामी पाँच वर्षका लागि नेपाल र बैंकबिचको साझेदारी खाका निर्माण एवम् माथिल्लो अरुण जलविद्युत आयोजना र दूधकोशी जलाशययुक्त आयोजना अगाडि बढाउने विषयमा छलफल भएको हो ।

अर्थमन्त्री पुन यसअघि ऊर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री भएका बेला ‘गेम चेन्जर’ आयोजनाका रूपमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणको काम अघि बढेको थियो ।

बैठकमा मन्त्री पुनले ठुलो मध्येको एक अन्तर्राष्ट्रिय विकास साझेदारका रूपमा नेपालको आर्थिक विकासमा पुर्‍याउँदै आएको योगदानका लागि विश्व बैंकलाई धन्यवाद दिए । यातायात, सहरी विकास, कृषि, वन, वातावरण, रोजगारीलगायत क्षेत्रमा विश्व बैंकको लगानीमा विकास आयोजना अघि बढेको जानकारी दिँदै उनले विभिन्न कारणले ती आयोजनाको प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे । यद्यपि ती आयोजनाका कामलाई तीव्रता दिन आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

आईडा अन्तर्गत नेपालमा धेरै उल्लेख्य कार्यक्रम सम्पन्न भएको चर्चा गर्दै उनले नेपालले हरित उत्थानशील समावेशी विकासको मान्यता आत्मसात् गरेको बताए । उनले पूर्वाधारका आयोजनाहरूमा हरित वित्तको अभिवृद्धिका लागि विश्व बैंकलाई आग्रह समेत गरे ।

विश्व बैंकका उपाध्यक्षसहितका पदाधिकारीले नेपालसँगको सहकार्य निकै उत्साहजनक रहेको बताउँदै माथिल्लो अरुण जलविद्युत आयोजनासहित पाइपलाइनमा रहेका आयोजनाहरूबारे धारणा राखे । आईडाका कार्यक्रम सञ्चालन गरिएका अन्य मुलुकको तुलनामा नेपालको ऋण जोखिम कम रहेको भन्दै उनीहरुले सहुलियतपूर्ण बाहेकका ऋण समेत उपभोग गर्न नेपाललाई आग्रह गरे ।

मन्त्री पुनले राजस्व परिचालनमा आएको शिथिलता लगायत कारण वित्तीय सीमितता रहन गई दिगो विकास लक्ष्य, पूर्वाधार, जलवायु अनुकूलन कार्यान्वयन लगायतमा स्रोतको ठुलो खाडल सिर्जना हुन गएकाले विश्व बैंकलगायत विकास साझेदारले नेपालसँगको सहकार्य र सहयोग बढाई आर्थिक पुनरुत्थानको नेपालको प्रयासमा सघाउनुपर्ने बताए ।

बैठकमा अर्थमन्त्री पुनको साथमा सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, सह–सचिवद्वय उत्तरकुमार खत्री र रितेशकुमार शाक्य तथा अर्थसचिव कृष्णहरि पुष्कर, सह–सचिव श्रीकृष्ण नेपाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समेत सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस