चैत्र १८, काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड १९ बाट स्पेनमा एकै दिन ९ सय १३ जनाको मृत्यु भएको छ । ७ हजार ८ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार बिहानसम्म स्पेनमा ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार चीनमा अहिलेसम्म ३ हजार ३ सय ४ को मृत्यु भएको छ । कोेरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन नै हो । इटालीमा कोरोनाका कारण अहिलेसम्म ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा अहिलेसम्म ८७ हजार ९ सय ५६ जना संक्रमित भएका छन् । तीमध्ये १६ हजार ७ सय ८० जना पूर्ण रुपमा निको भएका छन् ।