माघ २७,हेटौँडा । वागमती प्रदेशको राजधानी शहर हेटौंडाको पर्यटकीयस्थल शहीद स्मारक नजिक रहेर संस्कारयुक्त शिक्षाका माध्यमबाट विद्यालय तहका विद्यार्थीहरुको सर्वांगीण विकासमा २५ वर्ष लागेको अवसरमा संस्थागत विद्यालय हेटौंडा एकेडेमीले रजत जयन्ती वर्षका रुपमा विविध कार्यक्रमसाथ भव्यतापुर्वक मनाउने भएको छ । यस सन्दर्भमा विद्यालयले माघ २९ देखि सप्ताहव्यापी कार्यक्रमसाथ रजत जयन्ती मनाउने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
कार्यक्रमको पहिलो दिन माघ २९ गते शोभायात्रा हुनेछ । सांस्कृतिक झाँकी, स्काउट समूहसहित हुप्राचौरबाट शुरु भइ पारिजातपथ, स्कुलरोड, सीमा चोक र बुद्धचोक हुँदै जिल्ला प्रहरी कार्यालयअगाडिको प्रांगणमा शोभायात्रा समापन हुनेछ । उक्त कार्यक्रमलाई मोहना लामाले संयोजन गर्नेछिन् । दोस्रो दिन फागुन १ गते माधबराज सुमार्गी स्मृति अन्तरमावि टी–२० क्रिकेट प्रतियोगिता हुने विद्यालय अध्यक्ष अरुणराज सुमार्गीले बताए । प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमले नगद क्रमशः २५ हजार र १५ हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने सुमार्गीले जानकारी दिए । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक एवम् यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत् टमाटा प्रमुख अतिथि रहने कार्यक्रमलाई रबिन पौडेलले संयोजन गर्नेछन् ।
यस अवसरमा नेपाल क्रिकेट संघ र मकवानपुर क्रिकेट संघस“गको सहकार्यमा हेटौंडा एकेडेमीले क्रिकेट एकेडेमी सञ्चालन गर्न लागेको छ । उक्त दिन उक्त कार्यका लागि तीन संस्थाबीच सहकार्यको सम्झौतापत्र आदानप्रदान गरिने छ । तेस्रो दिन फागुन २ मा रुपचन्द्र बिष्ट स्मृति अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता हुनेछ । वसन्त पञ्चमीको अवसरमा अक्षरारम्भ कार्यक्रमसाथ रुपचन्द्र बिष्ट स्मृति अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ । सञ्चारकर्मी पवनराज पौडेलले सञ्चालन गर्ने प्रतियोगिताका प्रमुख अतिथि सञ्चारकर्मी तथा मोडल भुषण दाहाल रहने र उक्त कार्यक्रमको संयोजन सुदर्शन ढकालले गर्नेछन् । हाजिरीजवाफमा पहिलो, दोस्रो र तेस्रो हुनेले नगद रु. क्रमशः १० हजार, ८ हजार र ५ हजार पुरस्कार पाउनेछन् । उक्त प्रतियोगितामा आयोजक विद्यालय सहभागी हुनेछैन ।
सोही दिनबाट फागुन ६ गतेसम्म विद्यालय प्रांगणमा पुस्तक प्रदर्शनीसमेत आयोजना हुनेछ । पुस्तक प्रदर्शनीको अवसरमा हरेक दिन ख्यातिप्राप्त लेखक तथा प्राज्ञिक व्यक्तित्वहरुको उपस्थिति रहने छ । उक्त कार्यक्रमको संयोजन समिर ढकालले गर्नेछन् । चौथो दिन फागुन ३ गते राष्ट्रिय ख्यातिप्राप्त गायक आनन्द कार्कीको प्रमुख आतिथ्यतामा र यस क्षेत्रका ख्यातिप्राप्त गायक कृष्णगोपाल सिंहको विशेष आतिथ्यतामा हेटौंडा एकेडेमी सिंगिङ स्टार आयोजना हुनेछ । उक्त कार्यक्रमको संयोजन होस्टल वार्डन पेम्बा लामाले गर्नेछन् । पाँचौं दिन फागुन ४ गते नेपालकी चर्चित मोडेल तथा नृत्यांगना इबिना अधिकारीको प्रमुख आतिथ्यतामा हेटौंडा एकेडेमी डान्सिङ आइडल आयोजना हुनेछ । उक्त कार्यक्रमको संयोजन अर्चना उप्रेतीले गर्नेछिन् । छैठौं दिन फागुन ५ गते कवि सम्मेलन हुनेछ । विन्दबासिनी मिडिया प्रालि र हेटौंडा एकेडेमीको संयुक्त आयोजनामा र व्यङ्ग्य विधामा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कवि लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्यतामा कवि सम्मेलन आयोजना हुनेछ ।
उक्त कार्यक्रममा राष्ट्रियस्तरमा ख्यातिप्राप्त व्यङ्ग्य कवि अर्जुन पराजुलीलगायत चितवनबाट धनराज गिरी, एलबी क्षेत्री, पुष्प अधिकारी (अञ्जली), भुपेन भुपेन र बारा, पर्सा, रौतहट र मकवानपुरका मुर्धन्य कविहरुको साथमा हेटौंडा एकेडेमीका शिक्षक, कर्मचारी र विद्यार्थीले कवितावाचन गर्नेछन् । उक्त कार्यक्रमको संयोजन राधिका ढकालले गर्नेछिन् । सातौं दिन फागुन ६ गते रजत जयन्ती मूल समारोह हुनेछ । कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा हुने मूल समारोहमा रजत जयन्ती स्मारिका विमोचनका साथै सम्मान कार्यक्रम, पुरस्कार बितरण कार्यक्रम तथा विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिने छ । उक्त दिन विज्ञान परियोजना प्रदर्शनीको आयोजनासमेत गरिने छ ।
विज्ञान परियोजना प्रदर्शनीको संयोजन सरोज लामाले गर्ने अध्यक्ष सुमार्गीले बताए । उक्त विद्यालयमा मकवानपुरमा पहिलोपटक पूर्वविद्यार्थीको अल्मुनाइ गठन गरिएको छ । जसले महोत्सवका सबै दिन हेल्थक्याम्प राख्ने भएको छ ।